मधेस : कडा सुरक्षाबीच यी दुई वडामा आज हुँदैछ चुनाव

जनकपुरधाम । बाराको पचरौता नगरपालिकाका दुई वटा वडाका चार वटा मतदान केन्द्रमा बुधबार कडा सुरक्षाबीच पुन: मतदान हुंदैछ ।

वैशाख ३० मा मतदान केन्द्र कब्जा गरेर मत खसाल्न थालेपछि एउटै नगरपालिकाका ती मतदान केन्द्रको मतदान रद्द गरिएको थियो । ती केन्द्रमा उम्मेदवारहरुले लाइनमा बसेका मतदाता, मतदान अधिकृतसहित मतदान गराउन खटिएका कर्मचारी, थोरै संख्यामा खटिएका सुरक्षाकर्मीहरुलाई धम्क्याएर मतपत्र खोस्दै एक छापे भोट खसाल्न थालेको पाइएपछि रद्द गरिएको थियो ।

पचरौता नगरपालिकाका मतदान अधिकृत नीरबहादुर दाहालकाअनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसका लागि मतपत्र, मतपेटिका, स्वस्तिक छाप, कर्मचारी व्यवस्थापन गर्ने लगायतको कार्य भइसकेको छ ।

वडा २ को श्रीनगर बैरियास्थित मतदान स्थलको श्रीनगरप्रावि र वरगाछी मतदान केन्द्रमा क्रमश: ८९३ र ४६१ गरी १ हजार ३ सय ५४ मतदाता छन् ।

यसैगरी वडा ४ बल्दारीस्थित नेराप्रावि मतदान स्थलको मतदान केन्द्र ‘क’ मा ८ स १२ र ‘ख’ मा ८ सय २० गरी १ हजार ६ सय ३२ मतदाता छन् । ४ वटै मतदान केन्द्रमा २ हजार ९ सय ८६ मतदाता छन् ।

प्रकाशित : 18 May 2022 5:44 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !