मुस्लिम भएको आरोपमा नेताबाट कुटिएका वृद्धको मृत्यू


एजेन्सी । भारतको मध्यप्रदेशस्थित रतलाम जिल्लाका एक वृद्ध मुस्लिम भएको आरोपमा कुटिएको केही घण्टापछि मृत फेला परेका छन् । उनलाई भारतीय जनता पार्टीका स्थानीय नेताले निर्घात कुटेका थिए ।

६५ वर्षीय भंवरलाल जैनलाई भाजपाका नेता दिनेश कुशवाहाले निर्घात कुटेको भिडियो सार्वजनिक भएको भोलिपल्ट शुक्रबार साँझ निमच जिल्लाको रामपुरा रोडमा प्रहरीले मृत फेला पारेको हो । भारतीय मिडियाका अनुसार मृतक भंवरलाल रतलाम जिल्लाको छिमेकी सिर्सा गाउँका अगुवा जैनका छोरा थिए ।

तर उनी मुस्लिम बनेको आशंकामा भारतीय जनता पार्टीका स्थानीय नेताले उनलाई निर्घात कुटेको स्थानीय मिडियाले जनाएका छन् । उनी कुटिएको भोलिपल्ट मनसा प्रहरी कार्यालय नजिकै मृत अवस्थामा भेटिएका हुन् ।

भंवरलाल जैनलाई भाजपाका ती नेताले निर्मम तरिकाले कुटेको भिडियो समेत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । मृतक जैन मानसिक रुपमा पनि अस्वस्थ भएको बताइएको छ ।

उनी राजस्थानको छिमेकी क्षेत्र चित्तौडगढबाट जिल्लाबाट मे १६ देखि वेपत्ता थिए । जवकि उनी मे १५ मा आफन्तसँग मन्दिरमा पूजा गर्न गएका थिए । उनको परिवारले वेपत्ता भएपछि मे १६ मा चित्तौडगढस्थित प्रहरीकहाँ उजुरी दिएको थियो ।

त्यसको तीन दिनपछि उनी मृत भेटिएका हुन् । यद्यपि उनी मृत भेटिनुअघि नै उनीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । एक मिनेटको उक्त भिडियोमा भाजपाका नेता दिनेशले जैनलाई एक चिया पसलमा पिटिरहेको देखिएका छन् । भिडियोमा देखिए अनुसार भाजपाका ती नेताले उनलाई मुस्लिम भएको आरोप लगाइरहेका छन् ।

सोही भिडियोमा नेता दिनेशले जैनलाई आधारकार्ड पनि मागिरहेका छन् । जैनले भने आफू रतलामको बासिन्दा रहेको बताइरहेका छन् । तर भाजपाका नेताले उनलाई निरन्तर पिटिरहेको भिडियोमा देखिन्छ ।

भारतीय मिडियाका अनुसार उक्त भिडियो आरोपित भाजपाका दिनेश कुशवाह आफैंले मे २० मा स्वच्छ भारत नामको ह्वाट्सएप समूहबाट अपलोड गरेका थिए । साथै उक्त भिडियो अन्य सामाजिक सञ्जालमा पनि विस्तार भएको छ ।

निमच जिल्ला प्रहरी निरीक्षक सुरज वर्माका अनुसार उक्त घटनाबारे दिनेश कुशवाहासहित दुई जनामाथि मुद्दा दर्ता भएको छ । एकमध्ये उक्त भिडियो खिच्ने व्यक्ति पनि छन् ।

आरोपित दिनेश कुशवाहा भाजपासँग सम्बद्ध संगठनमा रहेको बताइन्छ । साथै उनी निमुचस्थित भाजपा युवा शाखाको स्थानीय कार्यकारी रहेको बताइएको छ । साथै उनकी पत्नी मनसा नगरको यसअघिको परिषद्‍मा रहेकी थिइन् । साथै भिडियो खिच्ने आरोपित पनि भाजपासँग आवद्ध रहेको बताइएको छ ।

प्रकाशित : २०७९ जेष्ठ ८, आईतवार १६:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ