काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लोसपाका नेताहरूले नागरिकता विधेयक, मधेस तथा थरुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र रिहाइ तथा सम्झौता कार्यान्वयन लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा देउवा नेतृत्वको सरकार निर्माण हुने बेला गरिएका प्रतिबद्धता कार्यान्वयनका लागि आग्रह गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्व नागरिकता प्रमाणपत्र प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिने ।’
त्यस्तै, मधेस र थरुहट आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र निलम्बित सांसद रेशम चौधरीलाई रिहाइको माग गरिएको छ । लोसपाले किसानलाई मलखादको व्यवस्था अविलम्ब गर्न पनि सरकारसँग माग गरेको छ ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, उमाशंकर अरगरियालगायत बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि उपस्थित थिए ।