गाँजामाथिको प्रतिबन्ध हट्यो, जेलमा रहेका झन्डै ४ हजार कैदीलाई छाड्दै !


थाइल्यान्डले गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाएको छ ।

कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै गाँजामाथिको प्रतिबन्ध हटाएको हो । थाइल्यान्ड गाँजामाथिको प्रतिबन्ध हटाउने दक्षिण–पूर्वी एसियामै पहिलो देश बनेको छ ।

अब थाइल्यान्डमा गाँजाको खेती गर्न पाइने छ । प्रतिबन्ध फुकुवा भएसँगै सरकारले खेती गर्नको लागि नागरिकहरुलाई गाँजाको १० लाख विरुवा वितरण समेत गर्ने भएको छ ।

आजदेखि थाइल्यान्डका नागरिकले चाहेमा प्रति परिवार गाँजाका ६ वटा विरुवा सरकारबाट प्राप्त गर्न सक्नेछन् भने कम्पनीहरुले अनुमति लिएर गाँजाको खेती गर्न सक्नेछन् ।

गाँजामाथिको प्रतिबन्ध हटाउनु नागरिकका लागि आम्दानी गर्ने अवसर भएको थाइल्यान्डका उप-प्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री अनुटिन चर्नविराकुलले सामाजिक सञ्जालमार्फत बताएको बीबीसीले जनाएको छ ।

अब रेस्टुरेन्टहरुमा गाँजा मिसाइएको खानेकुरा बेच्न तथा उपचारको रुपमा गाँजालाई स्वतन्त्र रुपमा प्रयोग गर्न पाइन्छ । गाँजामाथिको प्रतिबन्ध हटेसँगै सरकारले यस सम्बन्धी मुद्दामा जेल बसिरहेका झन्डै ४ हजार कैदीहरु रिहा गर्ने सरकारी अधिकारीले जनाएको छ ।

गाँजालाई लागुऔषधको सूचीबाट हटाएको भए पनि मनोरञ्जनका क्षेत्रमा भने प्रतिबन्ध कायमै रहेको छ ।चुराेटमा गाँजा मिसाउन पाइँदैन ।

गाँजा नियन्त्रण फुकुवा तथा उपयोग सम्बन्धी थाई संसद्ले कानुनको मस्यौदा बनाइरहेको पनि बीबीसीले जनाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २६, बिहीबार १४:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ