पोर्चुगलको समुन्द्रमा भेटियो नेपाली युवाको शव


Todaykhoj News

गत अप्रिल १५ देखि पोर्चुगलमा हराइरहेका नुवाकोट बेलकोटगढी १२ का सुजन सिलवालको शव समुन्द्रमा भेटिएको छ । उनी रोजगारीको सिलसिलामा पोर्चुगल आएका थिए ।

सिलवाल परिवारको सम्पर्कभन्दा बाहिर भएपछि परिवारकै आग्रहमा एनआरएनए पोर्चुगलको सक्रियतामा पोर्चुगलभर खोजीकार्य सुरु गरिएको थियो । यसमा पोर्चुगलको सिङ्गो नेपाली समुदाय उनको खोजीकार्यमा लागि परेको थियो ।

तर सिलवाल हराएको झण्डै दुई महिनापछि अर्थात जुलाई ९ का दिन पोर्चुगल प्रहरीले एनआरएनए पोर्चुगल अध्यक्ष रविन अधिकारीलाई शव भेटिएको बारे जानकारी गराएको थियो ।

अध्यक्ष अधिकारीका अनुसार सिलवालको शव प्रहरीले हराएको भोलिपल्ट अर्थात अप्रिल १६ मा समुन्द्रबाट बाहिर निकालेको हो । कुनैपनि दावी नआएपछि सिलवालको शव अहिले अस्पतालमा छ ।

त्यसो त पोर्चुगलको कानुनअनुसार कुनैपनि शव आफन्तले कम्तिमा एक महिनाभित्र दावी गर्नुपर्छ । अन्यथा पोर्चुगलको सामाजिक सहयोगी संस्था शान्ताकाजाले शवको अन्तिम संस्कार गर्नेछ ।

सिलवाल हराएपछि प्रहरीमा खबर गरेको र सघ कै अगुवाइमा खोजी कार्य तीब्र बनाइएकोले शव पाउने अपेक्षा संघले राखेको छ । संघका अध्यक्ष रबिन अधिकारीले आगामी सोमबारसम्म पोर्चुगलमा लगातार विदा परेकोले मंगलबारमात्रै यसबारे थप जानकारी लिने सकिने बताएका छन् ।

उनले परिवारलाई खबर गरिएको र परिवारले शव नेपाल पठाइदिन आग्रह गरेको बताए । ‘हामी सबै कागजात र आवश्यक प्रक्रिया सकेर शव बुझ्नेछौं,’ उनले भने, ‘शव पाएपछि मात्रै नेपाल पठाउनेबारे तयारी थाल्नेछौं ।’

एनआरएनएको अगुवाईमा पोर्चुगलभर सिलवालको खोजीकार्यका लागि फोटोसहितको पम्प्लेट र सूचना टाँसेर अभियान चलाइएको थियो । सिलवाल विगत सात बर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए ।

प्रकाशित : २०७९ जेष्ठ २८, शनिबार ११:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ