पाकिस्तान सरकारले मानिसहरूलाई किन कम चिया पिउन आग्रह गर्‍यो ?


बीबीसी । मुलुकको अर्थतन्त्रलाई जोगाइराख्न भन्दै पाकिस्तानमा मानिसहरूलाई चिया पिउने मात्रा घटाउन आग्रह गरिएको छ ।

प्रतिदिन पिउने चियाको मात्रा घटाइँदा आयातमा खर्च हुने उच्च रकममा कमी आउने वरिष्ठ मन्त्री एहसान इकबालले बताएका छन् ।

पाकिस्तानमा विदेशी मुद्रा सञ्चिति घटेर दुई महिनाभन्दा कम समयका लागि वस्तु आयात गर्न सकिने अवस्थामा पुगेको छ । पाकिस्तानलाई तत्काल आर्थिक सहायताको आवश्यकता देखिएको छ ।

पाकिस्तान विश्वकै सबैभन्दा ठूलो चिया आयातकर्ता हो । गत वर्ष मात्र उसले ६० करोड डलरभन्दा बढीको चिया आयात गरेको थियो ।

‘म एकदेखि दुई कप चिया कम पिउन देशवासीलाई आग्रह गर्छु । किनकि हामीले ऋणको पैसाले चिया आयात गरिरहेका छौँ,’ पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मन्त्री इकबालले भने ।

विद्युत्‌ बचतका लागि पसलेहरूले पनि राति साढे ८ बजे चिया पसलहरू बन्द गर्ने उनले बताए । विदेशी मुद्रा सञ्चिति तीव्र गतिमा घटिरहँदा आयातमा कटौती गर्न र विदेशी मुद्रा बचत गर्न पाकिस्तान सरकारमाथि दबाव बढेको छ ।

कम चिया पिउन मन्त्रीले गरेको आग्रह सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ। चिया पिउने मात्रा घटाएर देशको गम्भीर आर्थिक समस्यालाई सम्बोधन गर्न सकिनेमा धेरैले आशङ्का व्यक्त गरेका छन् ।

फेब्रुअरीमा १६ अर्ब डलर रहेको पाकिस्तानको विदेशी मुद्रा सञ्चिति घटेर जुन महिनाको पहिला सातासम्म १० अर्ब डलर पुगेको छ । यति रकमले दुई महिनालाई पुग्ने सबै खाले वस्तुको आयात मुश्किलले मात्र गर्न सकिन्छ ।

विदेशी मुद्रा सञ्चिति जोगाइराख्ने प्रयासमा गत महिना कराचीमा अधिकारीहरूले विलासिताका दर्जनौँ सामानको आयातमा प्रतिबन्ध लगाएका थिए ।

यो आर्थिक सङ्कट शहबाज शरिफ नेतृत्वको सरकारका लागि एउटा ठूलो परीक्षा हो । गत एप्रिलमा विश्वासको मत पाउन नसकेको इमरान खान नेतृत्वको सरकारलाई शरिफले विस्थापित गरेका थिए ।

शपथ ग्रहण गरेलगत्तै प्रधानमन्त्री शरिफले खान नेतृत्वको सरकारले अर्थतन्त्रलाई अस्तव्यस्त बनाएको आरोप लगाउँदै त्यसलाई सही अवस्थामा फर्काउन ठूलो चुनौती रहेको बताएका थिए ।

प्रकाशित : २०७९ असार १, बुधबार १०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ