न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान विश्वकपको फाइनलमा


टी-२० क्रिकेट विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनल प्रवेश गरेको छ । अस्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा सम्पन्न खेलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । जसका लागि ड्रायल मिचेलले सर्वाधिक अविजित ५३ रन बनाउँदा कप्तान केन विलियमसनले ४६ रन बनाए ।

त्यस्तै डेभोन कोन्वेले २१ रन बनाउँदा जेम्स नीशम १६ रनमा अविजित रहे । बलिङतर्फ पाकिस्तानका शाहीन शाह अफ्रीदीले २ विकेट लिँदा मोहम्मद नवाजले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानलाई कप्तान बाबर आजम र मोहम्मद रिजवानले सानदार सुरुवात दिलाउँदा १९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । रिजवानले सर्वाधिक ५७ रन बनाउँदा बाबरले ५३ रन बनाए । त्यस्तै मोहम्मद ह्यारिसले ३० रन बनाए ।

बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिँदा मिचेल स्यान्टनरले १ विकेट । जितसँगै प्रतियोगिताका सुरुवाती दुई खेलमा पराजय ब्यहोर्दै खराब सुरुवात गरेको पाकिस्तानले पुनरागमन गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो ।

दोस्रो सेमिफाइनलमा बिहीवार इङ्ग्ल्याण्ड र भारत प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको विजेतासँग पाकिस्तानले फाइनल खेल्नेछ ।

प्रकाशित : २०७९ कार्तिक २३, बुधबार १७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ