जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँगै अर्का मधेशी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई जित कठीन हुने देखिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी ३ बाट चुनाव लडेका लोसपा अध्यक्ष ठाकुरभन्दा नेकपा एमालेका बागी उम्मेदवार राम आधार कापर एकहजार ३०० बढी मतले अगाडि छन् । कापरले दुईहजार ८९३ मत ल्याउँदा ठाकुर मात्र एकहजार ५४५ मत ल्याएर पछ्याइरहेका छन् ।
ठाकुरलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र एकीकृत समाजवादीको पनि समर्थन छ । यद्यपी उनी चुनावी परिणाममा पछि परेका हुन् । ठाकुर यही क्षेत्रबाट ०७४ मा विजयी भएका थिए ।
एमालेसँग गठबन्धन गरेका जसपा उम्मेदवार हरिनारायण चौधरी एकहजार ३२७ मत ल्याएर तेस्रो स्थानमा छन् । दोस्रो संविधानसभामा यो क्षेत्रबाटै निर्वाचित उनी पूर्वमन्त्री पनि हुन् । यो पटक उनी पनि कमजोर देखिन्छन् ।
सो क्षेत्रमा करिब आठहजार मत गणना भइसक्दा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लाल मात्र ९१ मत ल्याएर छैठौं स्थानमा छन् ।