संसद विघटन गर्न खोज्ने राष्ट्रपति नै पक्राउ


दक्षिण अमेरिकी मुलुक पेरू बुधबार नाटकीय रूपमा राजनीतिक घटनाक्रम भएका छन् ।

द न्युयोर्क टाइम्सका अनुसार बुधबार पेरूको संसदमा राष्ट्रपति पेड्रो क्यास्टिलो विरूद्धको महाअभियोग प्रस्तावमाथि मतदान हुने कार्यतालिका थियो । संसद बैठक नबस्दै ५३ वर्षीय राष्ट्रपति क्यास्टिलोले टेलिभिजनमा देशवासीका नाममा सम्बोधन गरे ।

उक्त सम्बोधनबाट उनले संसद विघटन गरेर संकटकालीन सरकार गठन गर्ने घोषणा गरे । आफू सत्तामा रहिरहन उनले गरेको घोषणा प्रतिपक्षी त स्वीकारेनन् नै उनका सहयात्री नै त्यसको विपक्षमा उभिए । सुरक्षा निकायका प्रमुखहरूले पनि संयुक्त वक्तव्य जारी गरेर राष्ट्रपतिको कदमलाई साथ नदिने बताए ।

केहीबेरमा बसेको संसद बैठकले राष्ट्रपति क्यास्टिलोविरूद्धको महाअभियोग प्रस्ताव पारित गर्‍यो । उनको ठाउँमा उपराष्ट्रपति डिना बोलार्तेलाई राष्ट्रपति चुन्यो । ६० वर्षीय डिनाले बुधबार राती नै राष्ट्रपतिको सपथ लिएकी छन् । उनी पेरूमा राष्ट्रपति बन्ने पहिलो महिला हुन् ।

नाटकीय रूपमा विकसित भएका घटनाक्रमसँगै संसद विघटन गर्ने राष्ट्रपति क्यास्टिलोलाई पक्राउ गरियो । अहिले उनलाई हिरासतमा राखिएको छ ।

क्यास्टिलो किसानबाट शिक्षक हुँदै राजनीतिमा आएर गत वर्ष जुलाईमा पेरूको राष्ट्रपति निर्वाचित भएका थिए । वामपन्थी विचारधाराका क्यास्टिलोलाई भ्रष्टाचार आरोपमा यसअघि पनि दुई पटक संसदमा महाअभियोग प्रस्ताव ल्याइएको थियो ।

आफूविरूद्धको महाअभियोग फेल गराउन उनले दर्जनौंलाई मन्त्री बनाएका थिए भने कुनै अनुभव नभएकाले पनि उच्च सरकारी जिम्मेवारी दिएका थिए ।

प्रकाशित : २०७९ मंसिर २२, बिहीबार ११:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ