मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन


जनकपुरधाम । सर्लाहीको मलंगवामा कृष्ण जन्माष्टमीको मूर्ती विसर्जन गर्ने क्रममा ढुंगामुढा गर्ने र सामाजिक सद्भाव विथोल्नेमाथि प्रशासनले कारबाही गर्ने भएको छ ।

घटनाको छानविनका लागि सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ९ सदस्यीय समिति आज बसेको सर्वपक्षीय भेलाबाट गठन गर्ने निर्णय गरिएको हो । समितिमा राष्ट्रिय अनुसन्धान, जिल्ला प्रहरी कार्यालय, मलंगवा नगरपालिका, जिल्ला समन्वय समिति लगायतको प्रतिनिधिलाई राखिएको छ ।

गठित समितिले १५ दिनभित्र घटनाको छानविन गरी जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश गर्ने र सोही आधारमा कारबाही अगाडी बढाइनेछ ।

सर्वपक्षीय बैठकले सद्भाव र्याली निकाल्ने, सबै क्षेत्रका अगुवाले आ–आफ्नो समुदायलाई संयमता अपनाउन पहल गर्ने, अपराधिक कार्य गरेमा कानून बमोजिम कारबाही गर्ने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

शुक्रवार राति मुर्ती विसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप भएको थियो । मुर्ति विसर्जनमा अवरोध गरेको भन्दै मलंगवामा आन्दोलन सुरु भएको र पटक पटक दुई पक्षबीच झडप भएपछि प्रशासनले कफ्यू आदेश जारी गरेको थियो ।

आज प्रशासनले कफ्यू हटाएर भदौं २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा भेला तथा प्रदर्शन गर्न नपाइने, होहल्ला र अवाञ्छित क्रियाकलाप नगर्न तथा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री नटाँस्न भनिएको छ ।

प्रकाशित : २०८० भाद्र २४, आईतवार १७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ