यी हुन् इजरायलमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी (विवरणसहित)


काठमाडौं । इजरायलमाथि हमासको आक्रमणपछि १२ नेपाली विद्यार्थी सम्पर्कविहीन छन् । इजरायल बस्ने सुनिता गिरीका अनुसार, सम्पर्कविहीन हुने नेपाली विद्यार्थीमा लोकेन्द्र धामी, राजेश स्वर्णकार, प्रविन डिसी, प्रवेश भण्डारी, पदम थापा, साजन फुलारा, आशीष चौधरी, नारायण न्यौपानेलगायत छन् । १२ जना सम्पर्कमा नरहेको कुरा सरकारले नै पुष्टि गरिसकेको छ ।

सुरक्षित ठाउँमा जान सफल विद्यार्थीहरूले नै बाँकी साथीहरू हराएको खबर गरेका हुन् । गम्भीर घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।

हमासको बम आक्रमणमा परी घाइते भएका अन्य तीन जना अस्पतालमा उपचाररत छन्, तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । अस्पतालमा उपचाररत रहेकाहरूमा धनबहादुर चौधरी, हिमाञ्चल कट्टेल र विधान सेजुवाल छन् । उपचाररत घाइतेमध्ये धनबहादुरको अवस्था सामान्य छ ।

बाँकी दुई जना एक बंकरमा रहेको र उनीहरू सम्पर्कमै रहेको तेलअभिभस्थित नेपाली दूतावासले जनाएको छ ।

उनीहरू किबुज अलुमिन कृषि फार्ममा काम गर्थे, जुन हमासले शासन गरिरहेको गाजापट्टीको सीमामा पर्छ । उक्त फार्मले उपलब्ध गराएको आवासमा १७ जना नेपाली विद्यार्थी थिए । सेदोत नेगेभमा पढ्ने उनीहरू सबै सुदूरपश्चिम प्रदेशका भएको बताइएको छ ।

इजरायलमा नेपाली समुदायको अवस्थाबारे संसदलाई जानकारी गराउने क्रममा परराष्ट्रमन्त्री साउदले १२ जना नेपाली विद्यार्थी सम्पर्कमा नरहेको बताएका छन् ।

शनिबार बिहानदेखि हमासले इजरायलका विभिन्न ठाउँमा आकाश, जमिन र समुद्रबाट आक्रमण गरिरहेको छ । आक्रमण अहिले पनि जारी छ । किबुज क्षेत्रमा अहिले पनि इजरायली सेना पुगिसकेको छैन ।

इजरायलमा आक्रमणबाट जोगिन हरेक आवास क्षेत्रमा बंकर राखिएको हुन्छ । तर, हमासले हिजो अभूतपूर्व आक्रमण गरेकाले धेरैले तयारी नै गर्न नपाएको इजरायली मिडियाले लेखेका छन् । यति आश्चर्यजनक तरिकाले हमासले आक्रमण गरेको कुरा इजरायली गुप्तचरले कसरी थाहा पाएनन् भन्ने कुराको अहिले त्यहाँ बहस नै भइरहेको छ ।

हमासले हिजो बिहानदेखि थालेको आक्रमणमा परी मृत्यु हुनेको संख्या तीन सय नाघिसकेको छ । आक्रमणमा १५ सय ९० जना बढी घाइते भएका इजरायल डिफेन्स फोर्स ९आईडीएफ० लाई उद्धृत गर्दै द टाइम्स अफ इजरायलले जनाएको छ । यीमध्ये तीन सयको अवस्था चिन्ताजनक छ । इजरायली शहरका अस्पतालहरू घाइतेहरूले भरिभराउ बनेका छन् ।

गाजाका केही सीमावर्ती समुदायलाई प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणबाट मुक्त गराउने इजरायली सेनाको प्रयासका क्रममा नरसंहारको अवस्था बनेको बताइएको छ । इजरायली अखबार जेरुसलेम पोस्टका अनुसार, हमासले सीमाभन्दा २४ किलोमिटर टाढासम्मका शहर र अन्य समुदायसहित दक्षिणी इजरायलका २२ ठाउँमा आक्रमण गरेको छ ।

केही स्थानसम्म आक्रमणकारीहरू बन्दुक बोकेर घण्टौँ घुमेका थिए । ुयस क्रममा उनीहरूले नागरिक र सैनिकमाथि गोली बर्साए, यीमध्ये कति नागरिक आफ्नै घरमा मारिए र केही सडकमै मारिए । एउटा ठूलो आउटडोर पार्टीमा पनि मानिसहरू मारिए- द टाइम्स अफ इजरायलमा समाचार छ ।

यसैबीच, हमासको आक्रमणपछि इजरायलले गाजापट्टीमा लगातार हवाई आक्रमण गरिरहेको छ । इजरायलको जवाफी कारबाहीमा परी गाजाका करिब ३ सय मानिस मारिएका छन् भने १०० भन्दा बढी घाइते भएका विदेशी मिडियाले लेखेका छन् ।

प्रकाशित : २०८० आश्विन २१, आईतवार १६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ