चुनावको मुखमा भारतमा विपक्षी दल काँग्रेसको बैंक खाता रोक्का


एजेन्सी । भारतको प्रमुख विपक्षी दल काँग्रेसले चुनावको मुखमा आयकर विभागले आफ्ना बैंक खाता रोक्का गरिदिएको जनाएको छ । पछि सो पार्टीले अदालतमा सुनुवाइसम्मका लागि खाताको रकममा तत्काललाई पहुँच दिइएको बताएको छ ।

काँग्रेस नेता मल्लिकाजुर्न खड्गेले यसलाई ‘लोकतन्त्रमाथिको आक्रमण’ भनेका छन् । सो आरोपप्रति सरकार वा आयकर विभागले कुनै जवाफ दिएका छैनन् ।

काँग्रेस नेता अजय माकनले शुक्रबार बिहान पत्रकारहरुलाई दुई दिनअघि पार्टीको खाताबाट काटिएको चेक ब्यांकले फिर्ता गरेको बताएका थिए । त्यसपछिको सोधीखोजीमा सबै खाता रोक्का गरिएको जवाफ दिइएको उनको भनाइ छ ।

माकनले पार्टीको खातामा रहेको रकम अनलाइन चन्दाबाट जुटेको र युवा भ्रातृसंगठनको खातामा रहेको रकम सदस्यता शुल्कबाट जम्मा भएको बताए । ‘हामीसँग खर्च गर्ने, बिजुलीको बिल तिर्ने र हाम्रा कामदारलाई तलब दिने पैसा छैन,’ माकनले भने ।

२०१८–१९ मा पार्टीको आयकर बुझाउन ४५ दिनको ढिलाइका लागि खाता रोक्का गरिएको उनको भनाइ छ ।

त्यसका अलावा २.१ अर्ब भारतीय रुपैयाँ जरिवाना तिर्न पनि आयकर विभागले भनेको माकनले जानकारी दिए । यसबारे अर्को साता अदालतमा सुनुवाइ हुने जनाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि विपक्षीलाई दमन गर्न राज्यका संयन्त्रहरुको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित : २०८० फाल्गुन ४, शुक्रबार १५:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ