मधेशमा जनमतकै नेतृत्व अनुमोदित- मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, जसपा नेपाल सत्ता बाहिर !


जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् ।

१०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् ।

उनको प्रस्तावको विपक्षमा ३४ मत परेको छ । प्रदेशसभामा शनिबार १०१ जना उपस्थित भएर मतदान गरेका थिए । मधेश प्रदेशमा कुल १०७ साँसद छन् ।

२८ जेठमा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा जनमत पार्टीका सिंह मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएपछि शनिबार कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ ।

मुख्यमन्त्री सिंहलाई आफ्नो दल जनमतसँगै नेकपा एमाले, काँग्रेस, लोसपा र नागरिक उन्मुक्ति पार्टीले विश्वासक‍ो मत दिएका छन् ।

साढे ६ वर्ष मधेशमा राज गरेका उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रतिपक्षमा पुगेको छ । यस्तै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, संघीय समाजवादी पार्टीलगायतले भने विपक्षमा मतदान गरेका छन् ।

मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअघि मन्त्रिपरिषदबाट माओवादी, एकीकृत समाजवादी, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।

 

प्रकाशित : 6 July 2024 6:57 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ