यसरी खिचिएको थियो ट्रम्पलाई गोली लागेको फोटो


काठमाडौं । अमेरिकाको राष्ट्रपति दौडमा रहेका डोनाल्ड ट्रम्पलाई शनिबार साँझ गोली हानी हत्याको प्रयास भयो ।

पेन्सिलभेनियाको बट्लरमा चुनावी र्‍यालीमा सम्बोधन गरिरहेका ट्रम्पमाथि प्रहार भएको गोलीले उनको दायाँ कानमा मात्रै छोयो र उनी सकुशल छन् ।

ट्रम्पको कान छोएर गएको गोली त्यहाँ उपस्थित समर्थकमध्येका एक जनालाई लाग्न पुग्दा उनको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

ट्रम्पमाथि गोली प्रहारको घटनालाई लिएर त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न पनि उठेको छ ।

ट्रम्पको कार्यक्रमस्थलबाट ४ सय फिट उत्तरतर्फको एकतले घरको छतबाट गोली चलेको थियो । ट्रम्पको सुरक्षामा हतियारसहित खटिएका सुरक्षाकर्मीले तत्काल गोली चलाउँदा अभियुक्तको घटनास्थलमै मृत्यु भएको छ ।

गोली चलाउने ती व्यक्ति पेन्सिलभेनियाकै २० वर्षीय थोमस म्याथ्यु क्रुक रहेको एफबिआईले खुलाएको छ। मतदाता नामावलीबाट उनी रिपब्लिकन समर्थक भएको पनि खुलेको छ ।

अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ का फोटो पत्रकार डोग मिल्सले ट्रम्पलाई गोली लाग्दै गरेको फोटो खिचेका छन् ।

trump-shoot-in-pa-1720951801.jpg

मिल्सले उक्त फोटो खिच्न प्रतिसेकेन्डमा ३० वटा फ्रेम खिच्ने सोनी क्यामेरा प्रयोग गरेका थिए। न्यूयोर्क टाइम्सले उल्लेख गरेअनुसार उनले ती फोटोहरू १/८००० सेकेन्ड सटर स्पिडमा खिचेका थिए ।

त्यसले ट्रम्प नजिकबाट गुज्रेको गोलीले हावालाई चिरेर जुन बाटो बनायो, त्यसलाई समेत खिच्ने क्षमता राखेको हो ।

अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ)मा २० वर्ष काम गरेका माइकल ह्यारिगनले उक्त फोटो विश्लेषण गर्दै भनेका छन्, ‘एंगल अलि कम भएको देखियो । यद्यपि लगातार गोली चलाइएको अवस्थामा यस्तो फोटो असम्भव हुँदैन ।’

गणितीय रूपमा पनि मिल्सले खिचेजस्तो तस्बिर खिच्न असम्भव नभएको उनले बताए ।

क्रुक मारिएको स्थानबाट सुरक्षाकर्मीले एआर-१५ अर्धस्वचालित राइफल बरामद गरेको थियो । ह्यारिगनले उक्त राइफलबाट निस्कने गोली खिच्न सकिने पनि बताएका छन् ।

‘त्यही हतियार प्रयोग भएको हो भने त्यसमा लाग्ने २२३ क्यालिबर तथा ५.५६ मिलिमिटरको गोलीको गति ३ हजार २०० प्रतिसेकेन्ड हुन्छ । सटर स्पिड १/८००० भएको क्यामराले ४/१० प्रतिफिटमा तस्बिर खिच्न सक्छ,’ उनले भने ।

मिल्सले खिचेको उक्त तस्बिर करौडौंमा एक रहेको पनि उनले बताए ।

प्रकाशित : २०८१ असार ३०, आईतवार १८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ