जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रीको संख्या २० पुर्याएको विषयमा जनमत पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंहसँग स्पष्टीकरण सोधेको छ ।
साउन २२ मा मुख्यमन्त्री सिंहले ५ राज्यमन्त्री थपेका थिए । यससँगै मन्त्रिपरिषद् २० सदस्यीय भएपछि मुख्यमन्त्री र उनको दल जनमत पार्टीको चर्को आलोचना भइरहेको छ ।
जसपा नेपाल समर्थित यूवाहरुले जनकपुरधाममा कुर्सी जुलुस नै निकाले । मन्त्रीको संख्या २० पुर्याएर मधेश प्रदेश र संघीयताको बदनाम गरेको भन्दै समाजवादी यूवा संघले सरकारविरुद्ध कुर्सी जुलुस निकालेका थिए ।
मधेशमा मात्र नभएर देशभर मधेशका मुख्यमन्त्री सिंह र जनमत पार्टीको आलोचना हुन थालेपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई आज स्पष्टीकरण सोधेको हो । जनमतका प्रवक्ता डा। शरदसिंह यादवले पार्टीसँग समन्वय नगरी राज्यमन्त्री थपेकाले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको जानकारी दिए ।
पार्टीले दिएका निर्देशनहरू किन बेवास्ता गरेको भन्दै मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण मागिएको छ । स्रोतका अनुसार सांसदलाई पाँच करोडको योजना दिने जस्ता विवादास्पद अभिव्यक्तिबारे पनि मुख्यमन्त्रीसँग पार्टीले स्पष्टीकरण सोधेको छ ।
जम्बो मन्त्रिपरिषद्बारे जनमतका अध्यक्ष डा. सीके राउतले मुख्यमन्त्रीको बचाउ गरेका थिए । सामाजिक सञ्जालमा आलोचना भएपछि उनले भनेका थिए, ‘यो गठबन्धनको सरकार हो । जनमत एक्लैले केही गर्न सक्दैन् ।’