सिरहा । औरही गाउँपालिका ५ स्थित श्री सुन्दर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बिबेक कुमार यादवलाई कारबाहीको माग गर्दै सो विद्यालयका भुपू विद्यार्थीहरु आन्दोलित बनेका छन् ।
भुपू विद्यार्थीहरुले शुक्रवार औरही गाउँपालिका अगाडी र चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरु प्रधानाध्यापक यादवलाई कारबाही गर, कारबाही गर्न आलटाल गर्न पाइँदैन, असक्षम जनप्रतिनिधि मुर्दाबाद जस्ता नारा लगाए ।
गत कार्तिक २९ मा भुपू विद्यार्थी मञ्ज २०६४ ब्याजले विद्यालय परिसरमा गुरु सम्मान तथा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा सम्बोधन गर्न नदिएको भन्दै प्रधानाध्यापक यादव अशोभनिय हर्कत गर्नुका साथै भुपु विद्यार्थीहरुलाई दुव्र्यवहार गरेका थिए ।
‘गाउँपालिका अध्यक्ष शिवजी यादव समेत सहभागी कार्यक्रममा प्रधानाध्यापक यादवले अशोभनिय हर्कत र हामीलाई दुव्र्यवहार गरे’, भुपु विद्यार्थी तथा सिरहा क्याम्पसका स्ववियू सभापति दिपेन्द्र यादवले भने, ‘प्रधानाध्यापक यादवलाई कारबाही गर्न गाउँपालिका अध्यक्ष यादवलाई ज्ञापनपत्र समेत बुझाएका थियौं । तर पटक पटक कार्यपालिका बैठक बसेर छलफल गरेपनि हालसम्म कारबाही नगरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको छ ।’
मशाल जुलुसको सम्बोधन गर्दै उनले प्रधानाध्यापक यादवलाई कारबाही गर्नुको साटो बचाउने खेलमा जनप्रतिनिधिहरु लागेको आरोप लगाए । उनले आज प्रदर्शन मार्फत् जनप्रतिनिधिलाई खबरदारी गरेको र कारबाही नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।