भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नुहाइरहेका महिलाहरूको गोपनीयता हनन् गर्ने भिडिओहरू बेचिएको पाइएको छ ।
उत्तर प्रदेश प्रहरीले त्यस्ता भिडिओ बिक्री गरेको भन्दै सोसल मिडिया अकाउन्टहरू विरुद्ध मुद्दा दायर गरको हो । हाकुम्भमा नुहाइरहेका महिलाहरूको आपत्तिजनक भिडिओ पोस्ट गर्ने र बेच्ने सामाजिक सञ्जाल अकाउन्टहरू विरुद्ध हालसम्म दुई ओटा मुद्दा दर्ता भएका छन् ।
@neha1224872024 नामक इन्स्टाग्राम अकाउन्ट र CCTV CHANNEL 11 नामक टेलिग्राम च्यानल विरुद्ध महिला भक्तजनहरूको आपत्तिजनक भिडिओ शेयर गरेको भन्दै मुद्दा दर्ता गरिएको हो ।
कारबाही प्रक्रिया अगाडि बढाइरहेको टेलिग्राम अकाउन्टमा भिडिओहरू बिक्रीका लागि समेत राखिएको छ । जसमा फरक-फरक मूल्यमा ती भिडिओ बिक्री भइरहेको आरोप लागेको छ।
यसअघि महाकुम्भमा महिलाहरू कपडा फेर्दै गर्दा र नुहाउँदा चोरी-छिपी खिचिएका भिडिओहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाइएको विषयमा भारतीय सञ्चार माध्यम इन्डिया टुडेले लेखेको छ ।
टेलिग्राम जस्ता प्लेटफर्महरूमा पूरा भिडिओहरू किन्न प्रयोगकर्ताहरूलाई लोभ्याउन महाकुम्भ मेलामा नुहाइरहेको दृश्यलाई ‘टिजर’ को रूपमा प्रयोग गरिएको पाइएको थियो।
फेसबुक पेजहरूले यस्ता आपत्तिजनक सामग्री प्रचार गर्न #mahakumbh2025, #gangasnan, र #prayagrajkumbh जस्ता ह्यासट्यागहरू प्रयोग गरिरहेका थिए । साथै, विभिन्न टेलिग्राम च्यानलहरू “Ganga River Open Bathing Group” र “Hidden Bath Videos Group” जस्ता प्राइभेट ग्रुपहरूको पहुँच उपलब्ध गराउँदै थिए।
उत्तर प्रदेश प्रहरी महानिर्देशक (डीजीपी) प्रशान्त कुमारको निर्देशनमा सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रामक र आपत्तिजनक सामग्री फैलाउने व्यक्तिहरूको पहिचान गर्न र उनीहरू विरुद्ध कडा कारबाही गर्ने अभियानलाई तीव्र बनाएको बताइएको छ ।
हाल भारतको प्रयागराजमा हरेक १२ वर्षमा आउने कुम्भ मेला चलिरहेको छ । १४४ वर्षमा आउने महाकुम्भ मेला परेकाले यस पटक करोडौँले प्रयागराजमा पुगेर डुबुल्की मारेका छन् ।
फेब्रुअरी २६ मा महाकुम्भ मेला सकिँदैछ । हालसम्म ५० करोडभन्दा बढीले महाकुम्भ मेलामा पुगेर डुबुल्की मारिसकेको बताइएको छ ।