जनकपुरको राराब क्याम्पसमा कर्मचारीबीच कुटाकुट, दोषीमाथि कारबाही गर्न मातृका यादवको माग


जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा कर्मचारीहरुबीच भएको कुटाकुट विषयमा छानविन गरी दोषीमाथि कारबाही गर्न नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले माग गरेका छन् ।

मधेश इन्चार्ज समेत रहेका नेता यादवले सामाजिक सञ्जालमार्फत कर्मचारीहरु र त्यहाँ अध्यनरत विद्यार्थीहरुमाथि सांघातिक आक्रमणको निष्पक्ष छानविन तथा दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राराब क्याम्पस परिसरभित्र त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल राष्ट्रीय कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष क. सुरेन्द्र यादव, अखिल (क्रांतिकारी) धनुषाका अध्यक्ष क. वृकेश अधिकारी र राराब अखिल (क्रांतिकारी) इकाइ अध्यक्ष क। सुशान्त यादव लगायत त्यहां अध्ययनरत विद्यार्थीहरूमाथी भएको सांघातिक आक्रमणको निष्पक्ष छानबीन तथा दोषीमाथी कारवाहीको माग गर्दछु ।’

एमबीएस परीक्षाको जिम्मेवारी विषयमा विवाद भएपछि कर्मचारीहरुबीच कुटाकुट भएको थियो । क्याम्पस प्रमुख बसन्त कर्णकै अगाडी कर्मचारीद्वय महेश यादव र सुरेन्द्र यादवबीच विवादपछि कुटाकुट भएको बताइएको छ ।

कुटाकुटको क्रममा कर्मचारी सुरेन्द्रको टाउकोमा चोट लागेको छ । अन्यको अवस्था सामान्य रहेको छ । सामान्य झगडा भएको र एकजनालाई बढी चोट लागेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

क्याम्पस प्रमुख कर्णले एमबीएस शाखाका प्रमुख अभिराम रायलाई हटाएर अन्यलाई जिम्मेवारी दिने विषयमा विवाद भएपछि कर्मचारीहरु आपसमा कुटाकुट गरेको बुझिएको छ । सो विषयमा बुझ्न क्याम्पस प्रमुख कर्णसँग सम्पर्क गर्दा हुन सकेन ।

यो पनि पढ्नुहोस् :

जनकपुरको राराब क्याम्पसमा कर्मचारीहरुबीच कुटाकुट

प्रकाशित : 24 February 2025 7:44 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !