सबै नेपालीलाई अनिवार्य बिमामा जोड्न आवश्यक : स्वास्थ्य मन्त्री पौडेल


ललितपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग सङ्घद्वारा आज यहाँ आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने बताएका छन् ।

मन्त्री पौडेलले नागरिकलाई निरोगी बनाउन उपचारात्मक पद्धतिभन्दा पनि निरोधात्मक पद्धतिलाई ध्यान दिनुपर्ने बताए । हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन र निरोगी बनाउन नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

मन्त्री पौडेलले मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेश गर्न सरोकारवालालाई आग्रह गरे । स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा समेट्नु पर्ने कुरा धेरै रहेका मन्त्री पौडेललेउल्लेख गरे । “संवैधानिक व्यव्यवस्थालाई कार्यान्वयन गर्न स्वास्थ्य बिमा महत्त्वपूर्ण छ, यसबाट नागरिकको निःशुल्क उपचार सुनिश्चित हुन्छ, प्रोटिन सुरक्षाको कुरालाई पनि यसमा जोड्न सकिन्छ,” उनले भने ।

मानव स्वास्थ्यलाई ध्यान दिँदै प्रोटिनलाई उपचारात्मक प्रणाली र चिकित्सकको सिफारिस प्रणालीमा कसरी जोड्न सकिन्छ भनेर ध्यान दिनुपर्ने मन्त्री पौडेलले उल्लेख गरे ।

नेपालका पशुजन्य उत्पादन स्वास्थ्यका देष्टिकोणले सुरक्षित रहेका पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले बताए । नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रबिन पुरीले उत्पादनदेखि उपभोगसम्म सुरक्षित खाद्यान्न नीतिको अवधारणामा रहेर खाद्य सुरक्षाको लागि प्रोटिनको सुनिश्चितता हुनुपर्नेमा जोड दिए ।

प्रकाशित : 27 February 2025 9:04 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !