अब स्न्यापड्रागन ८ एलिट चिपसेट भएका स्मार्टफोनले आठ वर्षसम्म सफ्टवेयर अपडेट पाउने


काठमाडौं । एन्ड्रोइड डिभाइसको सफ्टवेयर अपडेट सपोर्टमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार भएको छ ।

हाल सार्वजनिक भइरहेका एन्ड्रोइडका फ्ल्यागशिप स्मार्टफोनहरूले सात वर्षसम्म एन्ड्रोइड अपडेट सपोर्ट गर्ने दाबी गरिएको छ । यसैबीच, क्वालकमले गुगलसँग सहकार्य गर्दै आठ वर्षसम्म एन्ड्रोइड अपडेट सपोर्ट गर्न सक्ने स्न्यापड्रागन ८ एलिट चिपसेट सार्वजनिक गरेको छ ।

यो चिप राखिएका एन्ड्रोइड डिभाइसहरूले आठ वर्षसम्मको एन्ड्रोइड सफ्टवेयर र सेक्युरिटी अपडेट प्राप्त गर्ने क्वालकमको भनाइ छ ।

सामसङ ग्यालक्सी एस २५ र वानप्लस १३ मा पनि स्न्यापड्रागन ८ एलिट चिपसेट राखि‍एको छ । तर यी स्मार्टफोनमा आठ वर्षसम्मको अपडेट उपलब्ध हुने निश्चित छैन ।

किनकि अन्तिम निर्णय स्मार्टफोन निर्माता कम्पनीहरूकै हातमा रहनेछ । क्वालकमले भने यस्तो लामो अवधिको सपोर्ट उपलब्ध गराउन आवश्यक प्रविधिगत तयारी गरिसकेको जनाएको छ ।

यसैगरी, स्न्यापड्रागन ८ र ७ सिरिजका अन्य चिपसेटहरूमा पनि सफ्टवेयर सपोर्टका लागि विशेष कार्यक्रम समावेश गरिएको छ । भविष्यमा सार्वजनिक हुने एन्ड्रोइड फोनहरूमा निर्माताहरूले यो सुविधा अपनाउन सक्नेछन् ।

के नयाँ स्मार्टफोनहरूमा मात्र लागु हुन्छ ?

स्न्यापड्रागन ८ एलिट चिपसेटको यो सफ्टवेयर अपडेट सपोर्ट एन्ड्रोइड १५ संस्करणमा रिलिज भएका स्मार्टफोनहरूमा मात्र लागू हुनेछ । पहिले नै सार्वजनिक भएका स्न्यापड्रागन प्लेटफर्ममा भने यो सुविधा उपलब्ध हुने छैन ।

गुगलसँगको सहकार्य

क्वालकमले यो प्रविधि विकास गर्न गुगलसँग नजिकबाट सहकार्य गरेको हो । यस कार्यक्रमअन्तर्गत, एन्ड्रोइड कमन कर्नेल ९एसीके० मा आधारित आठ वर्षसम्मको विन्डो सपोर्ट राख्न सकिने दुई प्रमुख अपडेट उपलब्ध गराइनेछ ।

यो सुविधा उपयोग गर्न स्मार्टफोन निर्माता कम्पनीहरूले कुनै अतिरिक्त अपग्रेड वा परिवर्तन गर्न आवश्यक पर्ने छैन । उनीहरूले कुनै थप खर्च बेगरै सहज रूपमा नयाँ एन्ड्रोइड अपरेटिङ सिस्टम अपडेट प्राप्त गर्न सक्ने बताइएको छ ।

प्रकाशित : 28 February 2025 12:23 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !