के तपाईलाई थाहा छ ? अब गुगल म्यासेजबाटै ह्वाट्सएपको भिडिओ कल गर्न मिल्छ


काठमाडौं । गुगल मेसेजले सिधै ह्वाट्सएप भिडिओ कल गर्न मिल्ने किसिमको नयाँ फिचर ल्याउने भएको छ । नयाँ फिचर ल्याएसँगै भिडिओ कलका लागि गुगल मेसेजबाट अर्को एपमा जानुपर्ने झन्झट हट्नेछ ।

गुगल मेसेजको नयाँ अपडेटपछि प्रयोगकर्ताले एपको माथि दायाँ तर्फ कुनामा भिडिओ कलको आइकन देख्न सक्नेछन् । यसमा थिचेपछि सिधै ह्वाट्सएपमा पुगिनेछ । यदि प्रयोगकर्ताको मोबाइलमा ह्वाट्सएप नभएमा यसले तपाईँलाई भिडिओ कलका लागि गुगल मिट तर्फ लैजान्छ । जहाँबाट तपाईँले भिडिओ कल गर्न खोजेको व्यक्तिसँग कुराकानी गर्न सक्नु हुनेछ ।

हाल गुगल मेसेजमा आरसीएस मेसेजिङ अन गरेपछि अनलाइनमार्फत कुराकानी गर्न सकिने फिचर उपलब्ध छ । यो फिचरको प्रयोगबाट तपाईँलाई टेक्स्ट गर्न कुनै पनि शुल्क लाग्दैन । त्यस्तै गुगल मिट मार्फत भिडिओ कल गर्न सकिने फिचर पनि अहिले उपलब्ध छ ।

गुगल मेसेजमा देखिएको भिडिओ कलको आइकनमा थिचेर गुगल मिटमा भिडिओ कल गर्न सकिन्छ । यदि फोनमा गुगल मिट डाउनलोड छैन भने सो एप डाउनलोड गर्नका लागि प्रयोगकर्तालाई निर्देशन दिइन्छ ।

तर अब आउने अपडेटपछि गुगल मिट डाउनलोड गर्नुपर्ने झन्झटको पनि अन्त्य हुनेछ । र, ह्वाटसएप मार्फत नै भिडिओ कल गर्न सकिनेछ । फिचर सार्वजनिक गरेको समयमा दुई जनाबिच मात्र कुराकानी गर्न सम्भव हुनेछ । तर विस्तारै ग्रुप भिडिओ कलको सुविधा पनि गुगलले भविष्यमा उपलब्ध गराउने बताइएको छ ।

यो फिचर गुगल मेसेजको भर्सन २०२५०१३१ मा पाइएको हो । तर, यसलाई कहिले सार्वजनिक गर्ने भन्ने विषयमा अझै जानकारी दिएको छैन । बेटाले परीक्षण गरेर पास भएपछि मात्र यो फिचर सर्वसाधारणका लागि उपलब्ध हुनेछ ।

यता गुगल मेसेज र ह्वाट्सएप एक अर्कासँग जोडिएपछि स्मार्टफोन प्रयोगकर्ताहरूलाई कुराकानी गर्न थप सहज हुन सक्ने विश्वास लिइएको छ । किनभने यो फिचर आएसँगै गुगल मेसेज एप प्रयोगकर्ताले भिडिओ कल गर्न बाहिर निस्कनु पर्दैन ।

प्रकाशित : 28 February 2025 12:27 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !