दुबईमा भिड्दै न्युजिल्याण्ड र भारत, २५ वर्षपछि बदला लिने भारतलाई अवसर !


काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ । उपाधिका लागि दुबईमा यी दुईबीचको खेल दिउँसो पौने ३ बजे सुरु हुन लागेको हो ।

उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दै छन् । २५ वर्षपछि यी दुई टिम कुनै उपाधि भिडन्तका लागि एकअर्काविरुद्ध खेल्दै छन् ।

न्युजिल्यान्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराएको थियो । त्यसमा न्युजिल्यान्डको ब्याट र बल दुवै चम्केको थियो ।

त्यसैले न्युजिल्यान्डसामु एउटा अर्को अवसर आएको छ भारतलाई हराउने । त्यो पनि उत्साह र आत्मविश्वासपूर्ण प्रदर्शनका कारण ।

आइसिसीको आधिकारिक प्रतियोगितामा यसअघि दुईपल्ट भारत र न्युजिल्यान्ड फाइनलमा भिडेका छन् ।

यही प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई ४४ रनले हराइसकेको छ । लिग चरणमा दुवै एउटै समूहमा थिए । त्यसमा भारत न्युजिल्यान्डमाथि हाबी भएको थियो ।

भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराएको थियो । पछिल्लो फाइनल सन् २०२१ को टेस्ट च्याम्पियनसिप हो। त्यसमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले सजिलै पराजित गरेको थियो ।

एकदिवसीय त्रिकेटमा भारत र न्युजिल्यान्ड एकैपल्ट भिडेको छ । यही त त्यो खेल हो, जुन २५ वर्षअगाडि भएको थियो । त्यो भनेको सन् २००० को आइसिसी नकआउट ट्रफीको फाइनल भएको थियो नैरोबीमा। त्यसमा पनि न्युजिल्यान्ड नै विजयी रहेको थियो ।

यस्तोमा अवसर न्युजिल्यान्डसँग मात्र छैन, बदला लिने । भारतले पनि ती दुई फाइनल हारको बदला लिन सक्छ न्युजिल्यान्डमाथि ।

यसपल्टको च्याम्पियन्स ट्रफी दुई देशमा भएको हो । पाकिस्तान र अर्को युएईमा खेल भएको थियो। भारत पाकिस्तान जान नमानेपछि यस्तो भएको हो।

न्युजिल्यान्डले सन् २०१५ र २०१९ को विश्वकप फाइनल खेलेको थियो । तर, दुवै अवसरमा पराजित रह्यो । यस्तोमा न्युजिल्यान्डसामु त्यो हारको क्रमलाई पूर्णविराम लगाउने अवसर पनि छ ।

प्रकाशित : 9 March 2025 9:33 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !