चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी, एकैपटक ५ सय चिकित्सक माग !


काठमाडौं । चिकित्सक र नर्सहरुको पारिश्रमिक बढाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आश्वासन दिएका छन् ।

श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको मन्त्री पौडेलले बताए । काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो आश्वासन दिएका हुन् ।

स्वास्थ्यमन्त्री पौडेलले चिकित्सक र नर्सहरुको पारिश्रमिक सरकारी पनि बढाउने र निजीमा पनि बढाउन आग्रह गर्नेगरी सरकार अघि बढिरहेको बताए ।

उनले चिकित्कसहरुको दैनिकी गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसके विदेश जाने जनशक्ति कम हुने विश्वास व्यक्त गरे । चिकित्सकलाई दबाब मुक्त भएर काम गर्ने स्थिति निर्माण गर्न सरकारले कानूनी प्रवन्धहरु अघि बढाइरहेको उनको भनाई छ ।

उनले भने, ‘कम्तिमा श्रम ऐनले व्यवस्था गरेबमोजिम स्किल्ड म्यानपावरलाई दिनुपर्ने न्युनतम तलव दिनुपर्छ । त्यो एकदम कडाईका साथ लागू गर्नेगरी अघि बढिरहेका छौँ । श्रम ऐनले तोकेको रकमले पनि पुग्दैन । एउटा नर्सलाई २२ हजारले, एउटा डाक्टरलाई ४८ हजारले दैनिकी गुजार्न सम्भव हुँदैन । यसलाई गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसक्यौँ भने विदेश जाने क्रम रोकिन सक्छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने ।

उनले एकै पटक लोकसेवा आयोगबाट ५ सय चिकित्सक लिनका लागि मन्त्रीपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकेको पनि बताए । आवश्यक चिकित्सक उत्पादन भएपनि नेपालभित्रै जनशक्ति सक्रिय नरहनु ठूलो चनौति भएको बताए ।

चिकित्सकहरुलाई नेपालमै बस्ने स्थिति कसरी निर्माण गर्ने भन्ने बारेमा गम्भीर बन्न जरुरी रहेको स्वास्थ्य मन्त्री पौडेलको भनाई छ ।

प्रकाशित : 11 March 2025 8:26 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !