डण्डी र सिमेन्टमा कार्टेलिङ : अस्वाभाविक मूल्य बढाउँदा पनि सरकार मूकदर्शक !


काठमाडौं । सिमेन्ट र निर्माण सामग्रीको मूल्य वृद्धिमा निर्माण व्यवसायी र उद्योगीहरूबीच विवाद बढेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले डण्डी सिमेन्ट उद्योगीहरूले ‘कार्टेलिङ’ गरी कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाएको आरोप लगाएको छ भने सिमेन्ट उत्पादकहरूले आवश्यक भएकाले मूल्य बढाउनु परेको तर्क गरेका छन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्ट र छड जस्ता आवश्यक सामग्रीमा उद्योगीले ‘अस्वाभाविक मूल्य वृद्धि’ गरेको आरोप लगाए । उनले उद्योगीको कार्टेलिङमा सरकारी मौन बसेको भन्दै आक्रोश पोखे ।

उनले उद्योगीहरुले जानाजानी कम उत्पादन गरि बजारमा कृत्रिम संकट उत्पन्न गरि मू्ल्य बढाउँदा समेत सरकार मूकदर्शक बनेको आरोप लगाए ।

सिंहले सिमेन्ट, रड लगायतको मूल्यवृद्धि गरि कार्टेलिङ गर्ने उद्योगीमाथि कारबाहीको माग गरे । ‘सरकार मूकदर्शक बनेर बस्न मिल्दैन । मूल्य वृद्धि तत्काल नियन्त्रण गर्न कार्टेलिङमा संलग्न उद्योगीविरुद्ध कारबाही हुनुपर्छ,’ उनले भने ।

तर, नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भने लागत बढेकाले मूल्य बढाउनु परेको दाबी गरे । आफूहरुले प्रतिबोरा सिमेन्ट १५० रुपैयाँ घाटामा बेचको र यस्तो स्थितिमा दीर्घकालीन व्यवसाय गर्न असमर्थ रहेको तर्क गरे ।

थापाले बिजुली अभाव, डिजेलको मूल्यवृद्धि र निर्माणाधीन उद्योगमा चुनौती भन्दै उत्पादन लागत बढ्ने भएकाले मूल्य अझै बढ्न सक्ने चेतावनी दिए ।

बैठकमा थापाले धम्कीपूर्ण अभिव्यति दिएको भन्दै सांसदहरुले आपत्ति जनाए । समिति सदस्य रणेन्द्र बराइलीले थापाको ‘धम्कीपूर्ण भाषा’ प्रयोग गरेको आरोप लगाए ।

घाटामा सिमेन्ट बेच्न आफूहरुले नभनेको भन्दै उनले समस्या समाधान तिर जानुपर्ने बताए । अर्का सदस्य डोलप्रसाद अर्यालले मूल्यवृद्धिको कारण वैज्ञानिक अध्ययन गर्नुपर्ने बताए ।

‘मूल्य चढाउने होइन, कारण खोज्ने हो । उपभोक्ता संरक्षणमा सरकार संवेदनशील हुनुपर्छ,’ उनले भने ।

सांसद महेन्द्रबहादुर शाहीले ठूला निर्माण परियोजनाहरू प्रभावित हुने चिन्ता व्यक्त गर्दै उद्योग मन्त्रालयले यस विषयमा सक्रिय हुनुपर्ने माग गरे । उनले उद्योग बन्द हुने र मूल्यवृद्धिको द्वन्द्वले अर्थतन्त्रलाई नराम्रो गर्ने भन्दै नीतिगत हस्तक्षेपको माग गरे ।

समिति सदस्य रमा कोइराला पौडेलले बैठक सभापतिले बोलाएको हो कि व्यवसायीले भनेर प्रश्न गरिन् । ‘सिमेन्ट उत्पादकका कुरा मान्य छैन । धम्की मान्य छैन ।’ उनले भनिन् ।

थापाले आफूहरुलाई बारम्बार समितिमा बोलाइएको भन्दै उद्योग चलाउने किन यहाँ आउने भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा पौडेलले समितिले बोलाउँदा प्रधानमन्त्री पनि उपस्थित हुनु पर्ने भन्दै कसैले आउँदिन भनेर भन्न नमिल्ने बताइन् ।

समिति सदस्य अमृतादेवि अग्रहरिले उद्योग मन्त्रालयले नभनि उद्योगीले सिमेन्ट मूल्य बढाउन सक्छन् भन्दै प्रश्न गरिन् । उनले आम जनतामाथि ठगी भइरहेको भन्दै यसको जिम्मेवारी मन्त्रालयले लिनुपर्ने बताइन् ।

सांसद लालप्रसाद साँवा लिम्बूले कच्चा पदार्थ, करमा वृद्धि भएको छरछैन भन्ने विषयमा अध्ययन गर्नुपर्ने भन्दै अन्यथा सिमेन्ट मूल्य कसरी बढ्यो भन्दै प्रश्न गरे ।

प्रकाशित : २०८१ चैत्र ५, मंगलवार १९:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ