एसइई परीक्षाबारे सिरहा प्रशासनले भन्यो– केन्द्रमा मोवाइल लगे जफत गरिन्छ


सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले भोली बुधवारबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मर्यादित, व्यवस्थित, शान्तिपूर्ण एवं भयरहीत बनाउन सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराजले आज विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेका हुन् । उनले परीक्षा केन्द्रभित्र खटिने केन्द्राध्यक्ष बाहेक विद्यार्थीहरुले मोवाइल, स्मार्ट वाच, विद्युतीय क्याल्कुलेटर, किताव, नोटबुक, गेसपेपर र अन्य चिटिङ सामग्रीहरु परीक्षाहलभित्र लैजान पूर्ण रुपमा निषेध गरिएको जनाएका छन् ।

उनले परीक्षा हलभित्र भेटिएका मोबाइल जफत हुने तथा उक्त परीक्षार्थीलाई परीक्षा हलबाट निष्काशन गर्ने पनि जानकारी गराएका छन् ।

यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ ।

 

प्रकाशित : २०८१ चैत्र ६, बुधबार १७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ