गोलबजारमा लुट ! अमेरिका गएकी शिक्षिकाको तलब निकासा गरी भ्रष्टाचार गरेको खुलासा


सिरहा । भ्रष्टाचारको पर्याय र संस्थागत अनियमिमताको लागि देशभरमा विख्यात गोलबजार नगरपालिकामा अर्को एउटा लज्जास्पद भ्रष्टाचारको रहस्य खुलेको छ ।

श्री जनता नमूना माध्यमिक विद्यालय चन्द्रलालपुर चोहर्वामा कार्यरत शिक्षिका पूनम सिंह अमेरिका गएको बेलाको तलब निकासा गरेर बाँडचुँड गरी खाइएको छ ।

विद्यालयमा बाल बिकास शिक्षिकामा कार्यरत पुनम सिंह २०८१ जेठको अन्तिम साता अमेरिका गइन । उनी भदौको ५ गते मात्र विद्यालयमा आइन् । लगभग ७२ दिन विद्यालयमा उनी अनुपस्थित थिइन् । तर उनको पूरै जेठ , असार र साउन महिनाको तलब निकासा माग गरियो ।

गोलबजार नगरपालिकाका तत्कालीन शिक्षा शाखा प्रमुख सुवोध लामा र प्रधानाध्यापक ब्रह्मदेव प्रसाद सिंहको मिलिभगतमा बिदामा रहेकी शिक्षिकाको तलब निकासा लिएर बाँडिचुडी हजम गरिएको हो ।

विद्यालयको हाजिरी रजिष्टरमा शिक्षिका पूनम सिंहले जेठ महिनाभरीको हाजिरी गरेकी छिन् । असार र साउन महिनाको हाजिरी पूरै खाली छ । भदौदेखि उनको हाजिरी नियमित रुपमा छ ।

त्यसै विद्यालयमा कार्यरत एक शिक्षकले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘बैशाख २०८२ लागेपछि पुरानो हाजिरी रजिष्टर फेरिन्छ । त्यसपछि पुनम सिंहलाई खाली रहेको असार र साउन महिनाको हाजिरी गराएर थन्काइ दिने प्रधानाध्यापकको योजना हो । पुरनो रजिष्टर त कसैले हेर्दैन ।’

गोलबजार स्कूलमा अष्ट्रेलिया गएकी शिक्षिका बिमला झा र राजीनामा दिएर अवकास लिएका शिक्षक अन्तराम यादवको तलब निकासा लिएर खाएको घटना सेलाउन नपाउँदै चोहर्वा स्कूलमा भएको अनीयमितता प्रकाशमा आएको छ ।

गोलबजार नगरपालिका २ का युवा दिनेश यादब भन्छन्, ‘गोलबजार नगरपालिकामा मेयर श्याम श्रेष्ठले असुली र कमिसनकै लागि शक्षा प्रमुखमा सुवोध लामालाई राखेका थिए ।’

उनले जोड दिएर भने- उप सचिव अनन्त पौडेललाई हटाएर कनिष्ट लामालाई शिक्षा अधिकृतमा राख्नुको उद्देश्य नै कमिशन र असुली थियो ।

गोलबजारका पाका कम्युनिष्ट नेता दामोदर अधिकारी भन्छन् , ‘गोलबजार नगरपालिकामा यस्ता थुप्रै अनुपस्थित र अवकाश प्राप्त शिक्षकहरुको तलब निकासा भएको छ र बाँडेर हजम गरेका छन् । खोज्दै जाँदा भेटिन्छ । अपवादका रुपमा एक दुई घटना देखिनु बेग्लै कुरा हो । यहाँ त यस्ता दर्जनौ केस देखिन्छन् । यस्ता प्रकृयामा मेयर श्याम श्रेष्ठकै मिलिभगत छ । किनकी कसैलाई कारवाही हुँदैन र भएको छैन, उल्टो जोगाउन खोजिन्छ । यो संस्थागत भ्रष्टाचारको नमूना हो ।’

प्रकाशित : २०८१ चैत्र १६, शनिबार १२:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ