मधेसका मुख्यमन्त्री सिंहको अनुगमन सप्तरी पुग्यो, चार अस्पताल बन्द गर्न निर्देशन


जनकपुरधाम । मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहले गृहजिल्ला सप्तरी पुगेर नीजि अस्पतालहरुको अनुगमन गरेका छन् ।

मुख्यमन्त्री सिंहले बोदेबर्साइनस्थित पाँच अस्पताल अनुगमन गर्दा चारवटा अबैध रुपमा संचालनमा रहेको पाइएको छ । उनले अनुमति बिना संचालित लाइफ केयर पोलिक्लिनिक प्रालि, छिननमस्ता डेन्टल क्लिनिक प्रालि, सगरमाथा डेन्टल क्लिनिक प्रालि, नईमा हेल्थ केयर एण्ड डाइगनेष्टिक सेन्टर र अक्टोभोग आइकेयर प्रालि बन्द गर्न निर्देशन दिएका छन् ।

यस्तै बोदेबर्साइनमा स्वास्थ्य व्यावसायी परिषद्बाट दर्ता प्रमाणपत्र नलिएका स्वास्थ्यकर्मी खटिने र मापदण्डविपरीत आकस्मिक उपचार कक्षमा आठ बेड र अन्तरङ्ग विभागमा नौ बेड सञ्चालन गरिरहेको जीवन ज्योति हस्पिटल प्रालिलाई १५ दिनभित्र कानुनसम्मत ढङ्गले सञ्चालन गर्न निर्देशन दिइएको छ ।

बोदेबर्साइन नगरपालिकाबाट १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेको सो अस्पतालले मापदण्डविपरीत विभिन्न कक्ष तथा विभागमा बढी शय्या सञ्चालन गरिरहेको पाइएको छ । यस्तै तोकिएको निकायबाट सेवा प्रदान गर्ने अनुमति नलिएका स्वास्थ्यकर्मीका भरमै स्वास्थ्यसेवा प्रदान गर्दै आएकाले मुख्यमन्त्री सिंहले अस्पताललाई नियमसम्मत तवरले सञ्चालन गर्न निर्देशन दिए ।

स्थानीय तहबाट १५ शय्याको सेवासञ्चालन अनुमति प्राप्त गरेर सञ्चालमा आएको सो अस्पताल मापदण्डअनुसार नै सेवा दिनुपर्ने स्थिति देखिएकाले स्वास्थ्य संस्था सञ्चालन निर्देशिकाअनुसार प्रदेश सरकारको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयबाट १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसारको व्यवस्थापनका आधारमा मात्र अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको उनका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।

उनले नेपाल स्वास्थ्य व्यावसायी परिषद् ऐन २०५२ ले ऐन प्रारम्भ भएको एक वर्षपछि दर्तावाला स्वास्थ्य व्यावसायीबाहेक अन्य स्वास्थ्य व्यावसायीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले स्वास्थ्य सेवा प्रदान गर्ने कामलाई दण्डनीय बनाए पनि अस्पतालमा उपलब्ध स्वास्थ्यकर्मी दर्तावाला नरहेको तर्फ मुख्यमन्त्री सिंहको ध्यानाकर्षण भएको बताए ।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार मुख्यमन्त्री सिंहले अहिलेसम्म १ सय ६२ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । तीमध्ये १७ वटा मात्र मापदण्डअनुसार संचालनमा छन् । कुनै निकारमा दर्ता नरहेका १ सय १२ अस्पताल बन्द गराइएको छ ।

प्रकाशित : २०८१ चैत्र १७, आईतवार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ