अब ५०० रुपैयाँसम्मको ट्रान्सफरमा कुनै पनि शुल्क नलाग्ने


काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रणालीमा लाग्ने शुल्क परिमार्जन गर्दै मोबाइल बैंकिङ, कनेक्ट आईपीएस तथा वालेटमार्फत ५०० रुपैयाँसम्मको रकम ट्रान्सफर निःशुल्क गर्ने व्यवस्था लागू गरेको छ ।

नयाँ व्यवस्थाअनुसार मोबाइल बैंकिङ, कनेक्ट आईपीएसको मोबाइल एप तथा वेबसाइट वा वालेटमा रकम राख्दा वा झिक्दा ५०० रुपैयाँसम्म कुनै शुल्क लाग्ने छैन । ५०० रुपैयाँदेखि ५००० रुपैयाँसम्मको ट्रान्सफर गर्दा ४ रुपैयाँ, ५००० रुपैयाँभन्दा माथि ८ रुपैयाँ शुल्क लाग्नेछ ।

मर्चेन्ट भुक्तानीको हकमा ५०० रुपैयाँसम्म २ रुपैयाँ, ५०० देखि ५००० रुपैयाँसम्म ४ रुपैयाँ, र ५००० भन्दा माथिको भुक्तानीमा ८ रुपैयाँ शुल्क तोकिएको छ । तर, सेवाप्रदायक तथा मर्चेन्टले शुल्क ब्यहोरेको कारोबारमा ग्राहकलाई कुनै शुल्क लाग्ने छैन ।

यो शुल्कमा सरकारलाई तिर्नुपर्ने १३ प्रतिशत भ्याट समेत समावेश हुनेछ । चैत्र १९ गतेदेखि कनेक्ट आईपीएसमा यो व्यवस्था लागू भइसकेको छ ।

बैंक वित्तीय संस्था तथा वालेटहरूले आफ्ना प्रणालीहरूमा आवश्यक मिलान गरेपछि मोबाइल बैंकिङ र वालेटमा पनि क्रमशः लागू हुनेछ।हाल ५२ बैंक वित्तीय संस्थाहरूको मोबाइल बैंकिङ एपमा आरपीएस कनेक्ट आईपीएस फण्ड ट्रान्सफर सेवा उपलब्ध छ ।

साथै, १३ भन्दा बढी वालेटहरूमा बैंक खाताबाट क्यास इन/आउटको सुविधा प्रयोग गर्न सकिन्छ

प्रकाशित : २०८१ चैत्र २०, बुधबार १५:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ