शिक्षकको आन्दोलनमा सिरहा नगरपालिकाको ऐक्यवद्धता, नयाँ शिक्षा ऐन जारी गर्न माग


सिरहा । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा जारी राखेको आन्दोलनमा सिरहा नगरपालिकाले समर्थन जनाएको छ ।

सिरहा नगरपालिकाका मेयर डा. नविन यादवले आज शिक्षक आन्दोलनमा एक्यवद्धता जनाएका हुन् । उनले एक्यवद्धता पत्र जारी गर्दै शिक्षकको मागहरु सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

उनले ऐक्यवद्धता पत्रमा भनेका छन्, ‘ऐन, कानुन र संविधान समेत समयानुकूल परिमार्जन हुदै आएका छन् । तर, शिक्षा ऐन २०२८ जुन करिब छ दशक पुरानो भईसकेको छ, अझै सम्म संशोधित नभएको अवस्थाले शिक्षा क्षेत्रको उपेक्षा झल्काउँछ, जुन अत्यन्तै खेदजनक छ ।’

मेयर डा. यादवले आफ्ना जायज माग र सम्नग शिक्षा प्रणाली सुधारको ऐजेण्डासहित देशभरका शिक्षक तथा कर्मचारीहरु काठमाडौं केन्द्रित सडक आन्दोलनमा उत्रिनुपर्ने बाध्यात्मक स्थिति सिर्जना हुनु कुनै पनि राष्ट्रका लागि शुभ सडकेत नभएको उल्लेख गरेका छन् । विगतमा नेपाल सरकार र शिक्षक संघ–संस्था बीच भएका विभिन्न सम्झौता तथा प्रतिवद्वताहरुको सम्मान गर्दै तत्काल नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने उनको भनाई छ ।

आन्दोलनरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई घर फर्किन सक्ने वातावरण तयार गर्न र उत्पन्न परिस्थितिको दीर्घकालीन समाधान खोज्न नेपाल सरकारसँग जोडदार माग गर्दै मेयर डा. यादवले शिक्षक आन्दोलनप्रति पूर्ण ऐक्यवद्धता प्रकट गरेका छन् ।

प्रकाशित : २०८२ बैशाख ३, बुधबार १८:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ