नवराजपुर गापा २ का पूर्व वडाध्यक्ष साह पुनः पक्राउ, यस्तो छ कारण


लहान । सिरहाको नवराजपुर गाउँपालिका २ का पूर्व वडाध्यक्ष खुशीलाल साह पुनः पक्राउ परेका छन् । सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा उनलाई महेशपुर पतार प्रहरीले पक्राउ गरेको हो ।

वर्तमान वडाध्यक्ष सुरेश कुमार यादवले पूर्व वडाध्यक्ष साहमाथि सरकारी कागजात किर्ते र ठगी गरेकाले आवश्यक कारबाही गर्न ०८० फाल्गुन १३ मा ईलाका प्रहरी कार्यालय महेशपुर पतारमा निवेदन दिएका थिए ।

सो निवेदनको आधारमा प्रहरीले सोहीबेला पूर्व वडाध्यक्ष साहलाई नियन्त्रणमा लिएको थियो । तर अनुसन्धानको क्रममा तीन दिनपछि हाजिरी जमानीमा उनलाई छाडियो ।

नेपाली काँग्रेसका साहलाई आज पुनः सोही मुद्दामा पक्राउ गरिएको छ । किर्ते गरेको भनिएको सरकारी कागजातको फोरेन्सिक रिपोर्ट आएपछि उनले किर्ते गरेको देखिएकाले साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानले जानकारी दिए ।

पूर्व वडाध्यक्ष साहले वडा कार्यालयको लेटरहेड, छाप र वर्तमान वडाध्यक्ष सुरेश कुमार यादवको हस्ताक्षर किर्ते गरेर तयार पारेको कागजात मालपोत कार्यालय लहानमा पेश गरी जग्गा विक्री वितरण गरेको आरोप छ ।

प्रकाशित : २०८२ बैशाख ८, सोमबार १९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ