आन्दोलित शिक्षक र सरकारबीच आज बिहान निर्णायक वार्ता


काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच आज (शनिबार) बिहान निर्णायक वार्ता हुँदैछ । वार्ता ७:३० बजेका लागि तय भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरुलाई शनिबार बिहान वार्ताका लागि बोलाइएको जानकारी दिएका छन् ।

शिक्षा मन्त्रालयले हिजै शिक्षकहरुसँग वार्ता तय गरेको थियो। तर, वार्ताको लागि सिंहदरबार गेटमा पुगेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधि सिंहदरबार प्रवेश पास नपाएपछि फर्किएका थिए ।

शिक्षकका प्रतिनिधि हिँडेपछि भने पास बोकेर शिक्षा मन्त्रालयका सहसचिव र डीएसपी सिंहदरबारको गेटमा पुगेका थिए । मन्त्रालयले भने हिजो कारणवस शिक्षकहरुसँग वार्ता हुन नसकेको जनाएको छ ।

हिजो तय भएको वार्ताको लागि सरकारले शिक्षकका प्रतिनिधि तोकिदिएपछि वार्ता भाँडिएको शिक्षक नेताहरुले बताएका छन् ।

तत्काल नयाँ शिक्षा ऐन ल्याउनु पर्ने मागसहित विगत २५ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा दवावमूलक आन्दोलन गर्दै आएका छन् ।

शिक्षक आन्दोलनको कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ । परीक्षा बोर्डले यही वैशाख ११ गतेका लागि तय गरेको कक्षा १२ को वार्षिक परीक्षा पनि शिक्षक आन्दोलनको कारण वैशाख २१ गतेका लागि सारिएको छ ।

प्रकाशित : २०८२ बैशाख १३, शनिबार ०७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ