लहान सिटी जेसीजद्वारा नि:शुल्क स्वास्थ्य शिविर, डेढ सय जनाले पाए सेवा


सिरहा । लहान सिटी जेसीजको आयोजनामा शनिबार लहान नगरपालिका ७ स्थित मारवाडी सेवा सदनमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा हाडजोर्नी तथा नशा रोग, नवजात शिशु तथा बाल रोग, स्त्री तथा प्रसूति रोग, दम, मधुमेह, उच्च रक्तचाप र दन्त सेवाको साथै विभिन्न विशेषज्ञहरूबाट जाँच तथा परामर्श प्रदान गर्नुको साथै आवश्यक औषधि समेत वितरण गरिएको छ ।

लहान सिटी जेसीज युवाहरूलाई सामाजिक सेवामा संलग्न गराउँदै उनीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सामुदायिक भावना विकास गर्ने उद्देश्यले क्रियाशील रहन्छ । स्वास्थ्य, शिक्षा, वातावरण र नागरिक सचेतनाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लहान सिटी जेसीजको मुख्य लक्ष्य रहेको लहान सिटी जेसीजका अध्यक्ष देवन लाल ठाकुरले बताए ।

स्वास्थ्य सेवा पहुँचविहीन समुदायसम्म पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको हो । ‘समाजसेवा हाम्रो प्रमुख धर्म हो, त्यसैले हामी यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्नेछौं,’ अध्यक्ष ठाकुरले जिकिर गरे ।

स्थानीय बासिन्दाहरूले निःशुल्क सेवा पाउँदा धन्यवाद व्यक्त गरेका थिए भने स्वास्थ्यकर्मीहरूले पनि समाजसेवामा हातेमालो गर्न पाउँदा आफूहरू खुसी भएको बताएका छन् ।

स्वास्थ्य सेवा सबैको अधिकार हो । थोरै जनालाई मात्रै भएपनि स्वास्थ्य सेवा दिन पाउँदा हामी निकै सन्तुष्ट छौँ,’ शिविरमा सहभागी स्वास्थ्यकर्मी तथा लहान सिटी जेसीजका उपाध्यक्ष रुपेश पासवानले खुशी व्यक्त गरे ।

उनका अनुसार प्राथमिक अवस्थामा नै रोग पत्ता लागे र समयमै उपचार सम्भव हुने भए धेरैको आर्थिक भार समेत कम हुने तर्क गरे ।

स्वास्थ्य शिविरमा करीब १ सय ५० जनाले स्वास्थ्य सेवा लिएका थिए । उनीहरूले निःशुल्क औषधि वितरण भएकोमा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित : २०८२ बैशाख १३, शनिबार १८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ