नवराजपुरले बनायो आर्थिक कार्यविधि, अतिक्रमण गर्नेलाई १० हजार जरिवाना !


सिरहा । नवराजपुर गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेमा, जथाभावि फोहोर फोलामा, पशु चौपाया छाडा छाडेमा, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएमा र अन्य कानून विपरितका कार्य गर्नेलाई कारबाही गर्न आर्थिक कार्यविधि बनाएको छ ।

गाउँपालिकाले आर्थिक कार्यविधि २०८१ को अनुसूची १३ मा जग्गा अतिक्रमण गर्ने, फोहोर गर्ने, पशु चौपाया छाडा छाड्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जस्ता कार्य गर्नेलाई जरिवाना/दण्ड सजाय र जफ्त सम्बन्धी प्रावधान राखिएको छ ।

उक्त अनुसूची अनुसार सार्वजनिक स्थल तथा सडक जग्गा अतिक्रमण गरेमा प्रथम पटक १० हजार र अर्को पटक अतिक्रमण गरेमा १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । साथै सार्वजनिक जग्गा अतिक्रमण गरि भौतिक संरचना निर्माण गरेमा सो हटाउने खर्च समेत सम्बन्धित व्यक्तिबाटै भराउनेछ ।

सार्वजनिक जग्गामा विगतदेखि बसेको भूमिहित व्यक्तिहरुको हकमा यो कार्यविधिको अनुसूची १३ लागु हुने छैन । भूमिहिन व्यक्तिहरुको जग्गा एवम् आवास व्यवस्थापन नहुन्जेलसम्म बसोबास स्थलबाट नहटाउने अनुसूचीमा उल्लेख गरिएको छ ।

यस्तै सार्वजनिक स्थल तथा सडकमा जथाभावि फोहोर मैला फालेमा ५ सयदेखि २५ सयसम्म जरिवाना लाग्ने, पशु छाडा चौपाया सो बापत हानी नोक्सानी भएमा हानी नोक्सानी बराबरको क्षतिपूर्ति तिर्नुपर्ने र व्यक्तिगत घटना दर्ता ३५ दिनभित्र गराउदा निःशुल्क हुने तथा समय नाघेर दर्ता गराउनेलाई रु. ५० जरिवाना बापत तिर्नुपर्ने व्यवस्था पनि आर्थिक कार्यविधिमा गरिएको छ ।

यस्तै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएमा ५० हजारदेखि ५ लाखसम्म जरिवाना लाग्नेछ ।

जारी गरिएको आर्थिक कार्यविधिलाई लागु गराउन कुनै कसर बाँकी नराख्ने गाउँपालिका अध्यक्ष शिव उदगार यादवले बताए । उनले भने, ‘यहाँ सार्वजनिक जग्गा र सडक अतिक्रमणको समस्या बढी छ । अब आर्थिक कार्यविधि ल्याइसकेपछि यो समस्या समाधान हुने विश्वास छ ।’

प्रकाशित : २०८२ बैशाख २२, सोमबार १७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ