सिरहामा ५५ लाख बढी रुपैया र खैरो हिरोइनसहित भाई-बहिनी पक्राउ


सिरहा । सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरोहिरोइन र नगद रुपैयासहित भाई-बहिनीलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका २२ का ३२ वर्षीय दिनेश कुमार यादव र उनका बहिनी २६ वर्षीय किरण कुमारी छन् । उनीहरुबाट ५५ लाख २२ हजार ९८३ रुपैया नगद र खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिकसहित २०८ दशमलव ९० ग्राम तथा प्लाष्टिक बाहेक २०१ ग्राम बरामद गरिएको छ ।

गोप्य सूचनाको आधारमा वैशाख २ मा लहान नगरपालिका १२ भोटिया टोलबाट पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानले दिनेश लागुऔषध मुद्दामै जेल सजाय काटेको पनि खुलेको जानकारी दिए ।

उनका अनुसार यादव ०८० साउन १२ मा प्लाष्टिकसहित ४.४ ग्राम र प्लाष्टिक बाहेक ३.६ ग्रामसहित पक्राउ परेका थिए । सो मुद्दामा आश्विन २४ गते पूर्पक्षका लागि कारागार चलान भएकोमा अदालतको फैसला बमोजिम ६ महिना कैद भुक्तान गरी छुटेको खुलेको छ।

सिरहाका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले बरामद रकम उनीहरु खैरो हिरोइन बिक्रीबाट जम्मा पारेको खुलेको जानकारी दिए । उनले भने, ‘खैरो हिरोइन भारतबाट भित्र्याउने गरिएको छ । खुल्ला सिमानाको फाइदा कारोबारीले उठाउने गर्छ ।’

बरामद खैरो हिरोइन करिब ८ लाखभन्दा बढीको रहेको छ । प्रहरीका अनुसार प्रति ग्राम ४ देखि ५ हजारमा खरिद बिक्री हुन्छ ।

यस्तै बरियारपट्टी गाउपालिका ३ बाट खैरो हिरोइनसहित नै पक्राउ परेका दुई जनालाई पनि सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा औरही गाउपालिका २ का २० वर्षीय कृष्ण कुमार यादव र १९ वर्षीय नीरज राइ छन् । उनीहरुबाट ७१० मिलीग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै १६ लाख ३८ हजार ३७० रुपैयासहित पक्राउ परेका हुण्डी कारोबारीलाई पनि सार्वजनिक गरेको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका २ बाट वडा नम्बर १७ का संजय कारक पक्राउ परेका छन् ।

प्रकाशित : २०८२ जेष्ठ ४, आईतवार १९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ