मधेशमा अत्यधिक गर्मी, विद्यार्थी बेहोस हुन थालेपछि बारा र पर्सामा तीन दिन विद्यालय बन्द


जनकपुरधाम । मधेशमा गर्मी अत्यधिक बढेको छ । आज जनकपुरधामसहितका ठाउँको तापक्रम ४० डिग्री सेल्सियससम्म मापन गरिएको छ । गर्मीले जनजीवन प्रभावित बनेको हो ।

गर्मीकै कारण बाराको कलैया र धनुषाको सबैलामा विद्यालयमै विद्यार्थीहरु बेहोस भएको घटना सार्वजनिक भएको छ । गर्मी धान्न नसकिने अवस्था देखिएकाले कलैया उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु तीन दिन बन्द गरेको छ ।

कलैयाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख राजीवकुमार यादवले एक सूचना जारी गर्दै बुधबारदेखि आइतबारसम्म तीन दिन सामुदायिक र संस्थागत सबै विद्यालय बन्द रहने जनाएका छन् ।

केही विद्यालयहरुमा बालबालिका मुर्छित भएको जानकारी प्राप्त हुन आएकाले वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयहरु तीन दिन बन्द गरिएको सूचनामा उल्लेख छ ।

यस्तै धनुषाको सबैला नगरपालिका २ स्थित श्रीराम प्रसाद माध्यमिक विद्यालयका २० जनाभन्दा बढी बालबालिका पनि गर्मीकै कारण मुर्छित भएका छन् । ती विद्यार्थीको अवस्था गम्भीर भएपछि अस्पतालमा भर्ना गरिएको छ ।

यस्तै पर्साको पोखरिया नगरपालिकाले पनि विद्यालयहरुमा गर्मी बिदा दिएको छ । पोखरियाका मेयर प्रदुमनप्रसाद चौहानले बढ्दो अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक र संस्थागत विद्यालयहरु तीन दिन बन्द गरिएको सूचना जारी गरेका हुन् ।

मेयर चौहानले जारी गरेको सूचनाअनुसार जेठ २८, २९ र ३० गते पोखरियाका सबै सामुदायिक र संस्थागत विद्यालयको पठनपाठन बन्द रहनेछ ।

प्रकाशित : २०८२ जेष्ठ २७, मंगलवार १७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ