बालेनका प्रिय प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा मेयर बालेन्द्र साह (बालेन)सँग ‘ट्युन’ मिलेको भनिएका प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । परियार हाल सूचना तथा प्रशारण विभाग महानिर्देशक छन् ।

परियार काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेकै बेला सम्पादित कार्यमा चार करोड भन्दा बढी रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परियार २०८० माघ ५ गतेदेखि ०८१ भदौ २७ गतेसम्म काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । उनी त्यहाँ जानुअघि प्रमुख प्रशासकीय अधिकृत रहेका बसन्त अधिकारीसँग मेयर बालेनको मिल्ती थिएन ।

बालेनले अधिकारीलाई बिदामा बस्न दबाब दिएका थिए । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकारीको सरुवा गरेर परियारलाई काठमाडौं महानगर पठाएको थियो ।

मेयर बालेन हालसम्मको कार्यकालमा आएका प्रमुख प्रशासकीय अधिकृतमध्ये परियारसँग मात्रै राम्रो सम्बन्ध रहेको स्रोत बताउँछ ।

परियारसँग ‘ट्युनिङ’ मिलिरहेकै बेला बालेनको नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध खलबलिएको थियो । बालेनले प्रधानमन्त्री र एमालेविरुद्ध सामाजिक सञ्जालमार्फत वाकयुद्ध छेडेका थिए ।

त्यहीबिचमा संघीय सरकारले सात महिनामै परियारलाई महानगरबाट झिकाएर उनको ठाउँमा हालका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई पठाएको थियो । यही कारण गुरागाईँसँग बालेनको सुरुदेखि नै तादम्यता मिल्न सकेको थिएन । जुन पछिल्लो समय उत्कर्षमा पुगेको छ ।

प्रकाशित : २०८२ जेष्ठ २८, बुधबार १६:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ