गौशालामा मेयर–उपमेयरको विवाद उत्कर्षमा, उपमेयरमाथि कारबाही गर्न प्रहरीमा पत्राचार


जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोले गैरकानूनी तरिकाले दर्ता चलानी रजिष्टर चोरेर लगेको भन्दै उनीमाथि कारबाही गर्न मेयर डा. दिपेन्द्र महतोले प्रहरीलाई पत्राचार गरेका छन् ।

दर्ता चलानी खाली राखेर अनियमितता गर्ने गरेको भन्दै उपमेयर महतोले मंगलवार दर्ता चलानी रजिष्टर नियन्त्रणमा लिएको थियो । उनले दर्ता चलानी खाली राखेको रजिष्टरको फोटो समेत सार्वजनिक गरेकी छन् ।

तर मेयर महतोले दर्ता चलानी रजिष्टर चोरेर लगेको भन्दै उपमेयरमाथि कारवाही हुनुपर्ने निर्णय कार्यपालिकाबाट गराएका छन् । मेयर महतोले बुधवार विहान कार्यपालिका बैठक डाकेको थिए, जुन बैठकमा उपमेयरलाई सहभागी गराएनन् । बैठकमा सहभागी हुन उनी नगरपालिका पुगेपछि गेटमै प्रवेश गर्न दिएन ।

मेयर महतोले गैरकानूनी तरिकाले दर्ता चलानी रजिष्टर लगेको भन्दै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको प्रेस विज्ञप्ती जारी गरेका हुन् । उनले विज्ञप्तीमा क्रसर माफियास मिलेर उपमेयरले अराजक गतिविधि गर्न लागेको आरोप समेत लगाएका छन् ।

उनले भनेका छन्, ‘नगरपालिका कार्यपालिकाको निर्णयबाट गौशाला नगरपालिका ८ का प्रमोद महतोको श्रीमतिको नाउँमा रहेको श्री शिवम गिट्टी तथा वालुवा वासिङ्ग सेन्टर, गौशाला न.पा.–८ ले भन्टाबारी नजिकको खोलाबाट अवैद्ध रुपमा ढुङ्गा, गिट्टी तथा बालुवा २ लाख २५ हजार घन. मि. उत्खन्न गरेकोमा जम्मा रकम रु ४ करोड ५० लाख मु.अ.करसहित सो फर्मबाट राजश्व असुल उपर गर्ने साथै उक्त फर्मको स्थानीय व्यवसाय दर्ता प्रमाण पत्र रद्द गर्ने निर्णय समेत भएकोमा नगर उप प्रमुखले नगरपालिकाको राजश्च क्षति हुने गरी क्रसर व्यवसायी प्रमोद महतोसंगको मिलोमतोमा अराजक गतिविधि गर्न खोजेको व्यहोरा जानकारी गराउन चाहन्छु ।’

उपमेयर महतोले विगतदेखि नै जनताको कामकाजमा अवरुद्ध गर्ने, कर्मचारीहरुलाई डराउने, धम्काउने तथा पिटने, विकास निर्माणमा बाधा पुप्याउने, नगरपालिकाको बजेट फ्रिज गर्ने तथा अगामी आ.व.को बजेट निर्माणलाई अवरुद्ध गर्ने नियतले नगरपालिकाको मूल गेट अगाडी कर्मचारीको गाडी रोक्ने, ढुङ्ग मुडा तथा झगडा गर्ने गतिविधि गरिरहेको आरोप समेत विज्ञप्तीमा लगाइएको छ ।

नगरपालिका कानुन र विधि वमोजिम चल्ने हो कसैले अनियमित कामकाज गरेको छ भने कानुन बमोजिम कारवाही हुने मेयर महतोले विज्ञप्तीमा स्पष्ट पारेका छन् । उनले कार्यालयले गैर कानुनी काम गरेको छ भने उपमेयरले प्रमाणसहित कार्यपालिकामा पेश गर्न चुनौती दिएका छन् ।

कार्यालय परिसरमा कुनै पनि अराजक गतिविधि, तोडफोड, झडप तथा सार्वजनिक सम्पत्तिको क्षति भएमा सम्पूर्ण जिम्मेवार उपमेयर हुने चेतावनी समेत मेयर महतोले दिएका छन् ।

प्रकाशित : २०८२ असार ७, शनिबार ०७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ