दुर्गा भगवती गाँउपालिकाका पूर्वअध्यक्ष साहसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी


रौतहट । दुर्गा भगवती गाँउपालिकाका पूर्वअध्यक्ष अरुण साहसहित ३ जनाविरुद्ध रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जग्गा सम्बन्धी कारोबारमा रकम ठगी गरेको मुद्दामा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत रौतहटसँग गत जेठ १३ गते अनुमति माग गरेको डिएसपी राजन कार्कीले जानकारी दिए । रौतहट प्रहरीको माग अनुसार अदालतले पूर्वअध्यक्ष साह सहित ३ जनालाई पक्राउ गर्न आदेश जारी गरेको छ ।

गरुडा नगरपालिका ६ स्थित पोठियाहीका सन्तोष कुमार चौधरीले काठमाण्डु नागार्जुन ४ का विमला देवी श्रेष्ठ र धीरज श्रेष्ठसंग सर्लाहीको हरिपुर ७ मा रहेको जग्गा खरिदका लागि गरेको सम्झौता बमोजिम पटक पटक गरी १ करोड ४३ लाख रकम नगद र चेक समेत बुझाएका थिए ।

सो जग्गा खरिद बिक्रीमा संलग्न साहलाई चौधरीले आफ्ना ससुरा प्रभन्य चौधरीको नाममा रहेको नेपाल बैंक लिमिटिडको चेक मार्फत २०८१ भदौँ १९ गते साहलाई १० लाख रुपैयाँको चेक दिएका थिए ।

सो पछि पटक पटक जग्गा पास गराउन भन्दा आलटाल गर्दै आएकाले पीडित सन्तोष चौधरीले पीडक विमला श्रेष्ठ, धीरज श्रेष्ठ र अरुण साह विरुद्ध १ करोड ४३ लाख ५० हजार ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दायर गरेका थिए ।

मुद्दामा प्रहरीको अनुसन्धानको लागि अदालतले अरुण साह, विमला देवी श्रेष्ठ र धीरज श्रेष्ठलाई पक्राउ गर्न आदेश दिएको छ । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले ठगी मुद्दामा संलग्न तीनैजना लाई पक्राउ गर्ने तयारी भईरहेको बताएका छन् ।

प्रकाशित : २०८२ असार ७, शनिबार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ