चितवन दुर्घटना अपडेट- एकै परिवारका आमा, छोरा र गर्भवती बुहारीको पनि मृत्यु


काठमाडौं । चितवनमा बस र माइक्रो ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएका सातमध्ये ६ जनाको सनाखत भएको छ ।

शनिबार बिहान चितवको राप्ती नगरपालिका ३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ ज २९९ नम्बरको माइक्रो ठोक्किएर मृत्यु भएकोमध्ये ६ जनाको सनाखत भएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा गर्भवतीसहित पाँच जना महिला र दुई पुरूषको मृत्यु भएको थियो । मृत्यु हुनेमा एकै परिवारका तीन जना पनि परेका छन् ।

मकवानपुरकै हेटौंडा उपमहानगरपालिका ५ कि ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेलको मृत्यु भएको डिएसपी खनालले जानकारी दिए ।

अन्य मृतकहरुमा मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर ६ की ३१ वर्षीया सिता कुमारी, माइक्रो चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० का राजु थिङ छन् ।

एक महिलाको शनाखत हुन बाँकी छ । उनको शव जिल्ला अस्पताल भरतपुरमा छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको भरतपुरकै एलाइभ हस्पिटल, नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित : २०८२ असार ७, शनिबार १६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ