आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो


काठमाडौं । प्रतिनिधिसभाबाट ‘नेपाल नागरिकता (दोस्रो संशोधन विधेयक, २०८२’ पारित गरिएको छ । शनिबार (असार १४) बसेको प्रतिनिधिसभा बैठकबाट उक्त विधेयक बहुमतले पारित गरिएको हो ।

योसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ । विधेयकमाथिको छलफलमा सोधिएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताका विषयमा संविधान, कानुन र सरकारको धारणा स्पष्ट रहेको बताए ।

नागरिकता पाउनुपर्ने नागरिक त्योविहीन हुन नहुनेमा जोड दिए । र, पाउन नपर्ने व्यक्तिले नागरिकता नपाऊन् भन्ने विषयमा सरकार गम्भीर रहेको उनले उल्लेख गरे ।

‘नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् । र, पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भन्ने कुरामा संविधान, कानुन र सरकार स्पष्ट छ,’ उनले भने, ‘नागरिकता अत्यन्त संवेदनशील विषय हो । नेपालको नागरिकता पाउनुपर्ने मानिसले नगरिकता पाउनुपर्छ, पाउन नहुने मानिसले पाउनु हुन्न । यसका विषयमा दुविधा हुन सक्दैन ।’

गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने संविधानमा व्यवस्था गरिएको उनले बताए । त्यसनिम्ति छुट्टै कानुन निर्माणको तयारीमा सरकार जुटेको उनले जानकारी गराए ।

‘संविधानले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । उनीहरूले प्राप्त गर्ने नागरिकता पनि आफैँमा नागरिकता हो,’ उनले भने, ‘हामीले अरू नागरिकताका बारेमा पनि केही सीमाहरू तोकेका छौँ । गैरआवासीय नागरिकता प्राप्त गर्ने मानिसले नेपालमा आर्थिक, सामाजिक र आर्थिक अधिकार प्रयोग गर्न पाउने भनेर व्यवस्था गरेको छ ।’

नागरिकता विषयका विवाद र समस्या समाधान गर्न यो विधेयक संशोधन गरिएको छ ।

प्रकाशित : २०८२ असार १५, आईतवार ०६:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ