बाढीका गलत सूचना रोक्न टिकटकले ल्यायो जानकारीमूलक ‘गाइड’


काठमाडौँ । नेपालमा मनसुनी विपद्‍ तथा बाढीको प्रकोप बढिरहेका सन्दर्भमा टिकटकले आज एक नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । जसले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र अप-टु-डेट जानकारी प्राप्त गर्न सहयोग गर्ने जनाइएको छ ।

प्राकृतिक प्रकोपसम्बन्धी गलत जानकारी फैलिन नदिन, वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न, सुरक्षा र तथ्यपरक सचेतनालाई प्रवर्द्धन गर्ने टिकटकको निरन्तर प्रयासकै हिस्साका रूपमा यो गाइडले प्रमाणित जानकारी उपलब्ध गराउने टिकटकले जनाएको छ ।

टिकटकले भनेको छ, ‘अबदेखि टिकटकमा बाढीसम्बन्धी अपडेट खोज्ने प्रयोगकर्ताहरूले एउटा विशेष ब्यानर देख्नेछन्, जसले उनीहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी भेरिफाई गर्न प्रेरित गर्नेछ। यो गाइडले प्रयोगकर्तालाई नेपालको राष्ट्रिय विपद् सूचना पोर्टल BIPAD, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिहरूलाई व्यावहारिक सहयोगसमेत समावेश गरिएको ‘ट्र्याजिक ईभेन्ट सपोर्ट गाइड’मा सिधै पहुँच दिन्छ।’

यो गाइडले प्राकृतिक विपद्‍देखि व्यक्तिगत क्षतिसम्मलाई समेटेर ट्र्याजिक ईभेन्टलाई स्पष्ट रूपमा परिभाषित गर्ने र त्यस्ता घटनाहरूमा मानसिक स्वास्थ्य सहयोग खोज्ने तरिका तथा यस्ता सामग्री जिम्मेवारीपूर्वक शेयर वा रिपोर्ट गर्ने उपायबारे पनि जानकारी दिने बताइएको छ ।

टिकटकका दक्षिण एशियाका लागि पब्लिक पोलिसी एण्ड गभर्मेन्ट रिलेसन्स हेड फिरदौस मोत्ताकिनले भने, ‘संकटको घडीमा समयमै र सही जानकारीको पहुँच अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौँ । हामीले विपद् व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका संस्थाहरूसँग सहकार्य गरेर एवम् यी स्रोतहरूलाई हाम्रा प्रयोगकर्ताको पहुँचमा सहज तरिकाले पुर्‍याएर, हामी उहाँहरूलाई सचेत निर्णय लिन र सुरक्षित रहन सहयोग गर्न चाहन्छौँ ।”

उनले सुरुवात टिकटकको विश्वसनीय जानकारीलाई प्राथमिकता दिने र आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्नेलगायत बृहत लक्ष्यहरूमा आधारित रहेको बताए ।

यी टुलहरूलाई युजर एक्सपिरियन्समै समाहित गरेर टिकटकले आफ्नो कम्युनिटीलाई अर्थपूर्ण सहयोग र भरपर्दो जानकारीका माध्यमबाट सशक्त बनाइरहेको दावी गरिएको छ ।

टिकटकले भनेको छ, ‘यो प्लेटफर्म यस्तो वातावरण निर्माण गर्न प्रतिबद्ध छ, जहाँ मानिसहरू सही सूचनाका माध्यमबाट अपडेट भइरहन, आफ्नो मानसिक र सामाजिक स्वास्थ्यको ख्याल राख्न र संवेदनशील क्षणहरूमा जिम्मेवार बन्न सक्नेछन् ।’

थप जानकारीको लागि टिकटकको सेफ्टी सेन्टर www.tiktok.com/safety मा जान सकिने छ ।

छोटो आकारका मोबाइल भिडियोहरूका लागि महत्वपूर्ण टिकटकका कार्यालयहरू लस एन्जेलस, न्युयोर्क, लण्डन, प्यारिस, बर्लिन, दुबई, सिङ्गापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियोलगायत विश्वका विभिन्न शहरहरूमा छन् ।

प्रकाशित : २०८२ असार २७, शुक्रबार १८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ