सर्पले टोकेमा के गर्ने ? के नगर्ने ?


विषालु सर्पको टोकाइबाट नेपालमा बर्सेनी धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन् । विशेषगरि बर्खाको बेला तराई-मधेशका जिल्लामा सर्पदंशका घटना धेरै हुने गरेका छन् ।

तराई मधेसमा मात्रै होइन, पछिल्लो सयम नेपालका भित्री मधेस र काठमाडौँ उपत्यका जस्ता पहाडका जिल्लामासमेत विषालु सर्पदंशका घटना बढ्न थालेका जानकारहरू बताउँछन् ।

विषालु सर्पले टोकेका गम्भीर बिरामीलाई बचाउन एन्टी स्नेक भेनम आवश्यक पर्छ । त्याे सर्पदंश उपचार केन्द्र र अस्पतालहरूमा मात्रै पाइन्छ । तर, जनचेतनाको अभावमा अझै पनि नेपालका ग्रामीण क्षेत्र र दुर्गम बस्तीमा सर्पले टोकेका बिरामीलाई झारफुक गर्ने गरिएको छ । जसको कारण समयमै उपचार नपाउँदा बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।

विज्ञहरूका अनुसार नेपालमा ८० प्रजातिका सर्प पाइन्छन् । त्यसमध्ये मुस्किलले २० प्रजातिका सर्पमात्रै विषालु हुन्छन् ।

चिकित्सकहरूका अनुसार सर्पले टोकिहालेमा बिरामीलाई आँत्तिन नदिने, खान, पिउन र सुत्न नदिने र जतिसक्दो चाँडो अस्पताल लैजानुपर्छ। त्यसो गर्न सके बिरामीलाई अकालमा ज्यान गुमाउनबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् ।

सर्पले टोकेका के गर्नु पर्छ ?

१‍. साबुन र सफा पानीले धेरै नरम रूपमा टोकेको ठाउँ धुनुपर्छ । यसले संक्रमणको जोखिम घटाउन सहयोग गर्छ । तर उपचार तर्फ लान ढिला हुने गरि धुनमा समय खर्चनु हुँदैन ।
२. घाउलाई चबाएर वा माडेर धुनु हुँदैन । कुनै बरफ वा रसायन लगाउनु हुँदैन ।
३. धाेएपछि, टोकेको अङ्गलाई स्थिर राख्नुपर्छ। सकेसम्म टाेकेकाे अङ्गलाई छात्तीभन्दा तलतिर राख्नुपर्छ ।
४. बिरामीका शरीरमा रहेका गहना, घडी फुकाल्नुहाेस् । टाइट लुगा हटाउनुहोस् ।
५. छिटोभन्दा छिटो अस्पताल जानुहोस् । याे सबैभन्दा महत्वपूर्ण काम हो ।

के गर्नु हुँदैन ?

१.विष चुसेर निकाल्ने प्रयास नगर्नुहोस् ।
२.घाउलाई काट्नु हुँदैन ।
३. कसेर बाँध्नु हुँदैन ।
४. रक्सी वा कफी जस्ता पेय पदार्थ सेवन गर्नु हुँदैन ।

प्रकाशित : २०८२ श्रावण २०, मंगलवार ०९:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ