रौतहटमा चिनी तस्करी प्रकरण : सशस्त्रका एसपीसहित तीन अधिकारीमाथि छानबिन


रौतहट । रौतहटमा तस्करीको चिनी गायब भएको घटनामा सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ अधिकृत छानबिनको घेरामा परेका छन्।

सशस्त्र प्रहरी ११ नम्बर गण, रौतहटका गणपति (एसपी) सन्तोष बस्नेत, डीएसपी अमर लामा र डीएसपी राजेन्द्र बस्नेतलाई प्रधान कार्यालयले तत्काल जिम्मेवारीबाट हटाएर अनुसन्धानमा तानेको हो।

गत २९ साउनमा गरुडास्थित शिवनगरका एक गोदाममा डीएसपी लामा र बस्नेतको टोलीले छापा मारेको थियो। गोदाममा करिब ७०० केजी चिनी रहेको सूचनाका आधारमा छापा मारिएको भए पनि भन्सारमा भने १०६ बोरा मात्रै बुझाइएको थियो। अनुसन्धानकर्ताका अनुसार गोदाममा रहेको अर्को ठूलो ट्रकमा लोड गरिएको चिनी गायब भएको देखिएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले केही अधिकारीमाथि कारबाहीका लागि अनुसन्धान भइरहेको पुष्टि गरे। प्रारम्भिक छानबिनमा अनियमितता देखिएपछि उच्चस्तरीय निर्णयअनुसार गण कमाण्डर एसपी बस्नेतदेखि दुई डीएसपीलाई जिम्मेवारीमुक्त गरिएको हो ।

डीएसपी अमर लामामाथि भने यसअघि पनि विवादमा तानिने गरेको आरोप छ। उनी इन्स्पेक्टर हुँदादेखि नै सोही क्षेत्रमा बारम्बार ‘पोष्ट’ मिलाउँदै आएका थिए । यो घटनामा तल्लो तहका प्रहरी जवान र हवल्दारमाथि समेत बयान लिने प्रक्रिया सुरु भएको स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी मुख्यालयले यो प्रकरणलाई गम्भीर रूपमा लिएको र तराईका अन्य जिल्लामा समेत यस्तै उजुरी आएकाले छुट्टै टोलीमार्फत अनुसन्धान अघि बढाइएको

जनाएको छ।

प्रकाशित : २०८२ भाद्र १३, शुक्रबार ११:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ