मधेशमा फोहोरी खेल– सभामुखले पाँच सांसदलाई पदमुक्त गरेको निर्णय उपसभामुखद्वारा बदर


जनकपुरधाम । मधेश प्रदेशमा राजनीतिको फोहोरी खेलले सीमा नाघेको छ । नयाँ सरकार गठनका क्रममा चर्किएको राजनीतिक विवाद उत्कर्षमा पुगेको हो ।

बिहीबार सात दलले पदअनुकूल आचरण नगरेको भन्दै सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि सभामुख मण्डलले लगातार १०वटा बैठकमा उपस्थित नभएको भन्दै पाँच सांसदलाई पदमुक्त गरेको सूचना टाँस गरेर काउन्टर गरेका थिए ।

तर सभामुख मण्डलको उक्त निर्णय अवैध भएको भन्दै उपसभामुख बबिता कुमारी राउत ईशरले प्रतिवाद गरेकी छन् । उनले पाँच सांसदलाई पदमुक्त गर्ने सभामुखको निर्णय बदर भएको भन्दै अर्को सूचना जारी गरेकी छन् ।

सभामुख मण्डलले बिहीबार लगातार १० बैठकसम्म अनुपस्थित भएको भन्दै उर्मिला देवी सिंह, मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार र सारदा शंकरप्रसाद कलवारलाई पदमुक्त गरेको सूचना टाँस गराएका थिए ।

11-1763049115.jpg

समाभुख मण्डल नेकपा एमालेबाट हुन् । उनले प्रदेशसभा सञ्चालनका क्रममा निष्पक्षता देखाउन नसकेको भन्दै सात दलका ७४ जना सांसदले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि उनले प्रतिशोध स्वरूप सांसद कारबाही गर्ने कदम उठाएको भन्दै उपसभामुख ईशरले उक्त निर्णय बदर गरेको बताएकी छन् ।

कारबाहीमा परेका सांसदहरू पछिल्लो पटक विश्वासको मत लिने बैठकमा उपस्थित भएको देखिएको हुँदा कारबाहीको सूचना बदर भएको उनको दाबी छ ।

214f1d56-665e-4a79-a5f6-4470438a7b54_fLhvsKkHuR-1763086553.jpg

प्रकाशित : २०८२ कार्तिक २८, शुक्रबार १०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ