मधेशमा अब को बन्दैछन् सभामुख ?


जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल दुई तिहाई बहुमतबाट पदमुक्त भइसकेका छन् । अब सभामुख को बन्ने जिज्ञासाको विषय बनेको हो ।

नयाँ सभामुख बनाउनेगरी नेपाली काँग्रेस, जसपा नेपाल, लोसपा, जनमतसहितका सात दलले छलफल थालिसकेको बुझिएको छ । स्रोतका अनुसार नेपाली काँग्रेस र जसपा नेपालले सभामुखमा दावी गरेका छन् ।

मधेश प्रदेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन ६ दलीय गठबन्धनले सफल भएको थियो । तर विश्वासको मत पाउने अवस्था नदेखेपछि प्रदेशसभा बैठकमै मुख्यमनत्री सोनल राजिनामा गरे । त्यसपछि मुख्यमन्त्रीका लागि दलहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा चल्यो । काँग्रेस पनि ६ दलीय गठबन्धनमै सामिल भयो ।

विवादबीच मधेशका सबभन्दा ठूला दल एमालेका संसदीय दलका नेता सरोज यादवलाई तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले बर्दिबासको होटलमा पुगेर नियुक्त गरिन् । होटलमै मुख्यमन्त्रीको सपथ पनि गराइयो । सोही कारण प्रदेश प्रमुख भण्डारीले पद गुमाइन् ।

असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात दल आन्दोलन गरे । मधेस भवनमा तोडफोड भयो । अझै आन्दोलित नै छन् । मुख्यमन्त्री नियुक्तिको विषय अदालतको कठघरामा पुगेको छ । मुख्यमन्त्री नियुक्तिको विवाद नमिल्दै सात दलले सभामुख मण्डललाई हटाइसकेको छ ।

सभामुख पदमुक्त भएलगत्तै अब नयाँ सभामुख बनाउने विषयमा सात दल छलफलमा जुटिसकेका छन् । तर अहिले पनि सभामुख को बन्ने विषयमा टुंगो लाग्न सकेको छैन । लोसपाका उपनेता उपेन्द्र महतोले छलफलपछि यस विषयमा मात्र निर्णय हुने बताए ।

प्रकाशित : २०८२ मंसिर ४, बिहीबार ०९:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ