सिमरा घटना : जेन-जीको जाहेरीले एमाले निकट दुई वडाध्यक्ष पक्राउ


वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बुधवार भएको जेन-जी युवा र नेकपा एमाले निकट नेता तथा कार्यकर्ताबिचको झडपका क्रममा घाइते भएकाहरूको किटानी जाहेरीका आधारमा दुई जना निर्वाचित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका २ वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।

बुधवार दिउँसो नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा आउने कार्यक्रम थियो । उनीहरूलाई स्वागत गर्न एमाले निकट युवा संघ नेपालका कार्यकर्ता विमानस्थल क्षेत्रमा जम्मा भएका थिए । त्यसै क्रममा जेन–जी समूहले विमानस्थल बाहिर प्रदर्शन गरेपछि दुवै पक्षबिच सिमरा चोकमा झडप भएको थियो ।

झडपमा जेन–जी समूहका ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए । घाइते उपाध्यायले वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहित केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा नियोजित आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले दुवै वडाध्यक्षलाई नियन्त्रणमा लिएको हो ।

झडप चर्किएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले जीतपुरसिमरा क्षेत्रमा केही समयका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जनप्रतिनिधि नै घटनामा संलग्न देखिएकाले गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए । ‘प्रारम्भिक बयान लिइरहेका छौँ, थप संलग्नहरूको खोजी पनि भइरहेको छ,’ उनले भने ।

घटनाले जीतपुरसिमरा क्षेत्रमा तनाव कायमै रहेको छ । प्रहरीले सर्वसाधारणलाई अफवाहमा नलाग्न र शान्ति कायम गर्न सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित : २०८२ मंसिर ४, बिहीबार १२:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ