जनकपुरमा बुहारी हत्याको आरोपमा ससुरा पक्राउ


धनुषा । जनकपुरधाम–४ कटैयाचौरीमा बुहारीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनका ससुरालाई पक्राउ गरेको छ ।

२७ वर्षीया रोशनी झाको शंकास्पद मृत्युपछि माइतीपक्षले ससुरा रुद्रनारायण मिश्रमाथि हत्या भएको आरोप लगाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

बिहीबार राति रोशनी भर्‍याङबाट खसेर घाइते भएको र उपचारका क्रममा गोदावरी अस्पतालमा मृत्यु भएको भनिएको थियो । तर माइतीपक्षले भने घाँटी थिचेर हत्या गरिएको र प्रमाण नष्ट गर्न कपडा तथा अन्य सामग्री जलाइएको आरोप लगाएको छ ।

रोशनीका मामा पंकज झाका अनुसार घटनास्थलमा जलेका अवशेष फेला परेका छन् र आरोपीहरूले पटक–पटक बयान परिवर्तन गरेका छन् । माइतीपक्षले श्रीमान प्रशान्त मिश्र, ससुरा रुद्रनारायणसहित परिवारका अन्य सदस्यहरूको संलग्नता रहेको आरोप लगाएको छ ।

घटनापछि धनुषाका प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवर आफैँ घटनास्थल पुगी निरीक्षण गरेका थिए । प्रारम्भिक अनुसन्धानले घटनालाई शंकास्पद मानेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चौतर्फी दबाबपछि आइतबार किटानी जाहेरी दर्ता गरिएको र सोही आधारमा मिश्र पक्राउ परेका हुन् ।

प्रकाशित : २०८२ मंसिर १४, आईतवार २०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ