आउने दुई साता झन् कठिन हुनेछ : प्रधानमन्त्री ओली


काठडमाडौं : प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसविरुद्ध संघर्षमा आउने दुई साता झन् कठिन हुने बताएका छन् । देशवासीका नाममा संबोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोगले भाइरस फैलन नदिएको नियन्त्रणमा राख्न सकिएको भन्दै उनले आउने दुई साता झन् गाह्रो पर्ने बताएका हुन् ।

सरकारले समयमै कदम चालेकाले धेरैको जीवन बचाएको दावी गर्दै प्रधानमन्त्री ओलीले भने केही दिनको अरु संकटले अझ धेरैको जीवन जोगाउन सकिन्छ । कोरोना भाइरसबाट जोगिने एक मात्र उपाय सामाजिक दूरी भएकाले लकडाउन पालना गर्न उनले आग्रह गरे । नेपालमा रहेका विदेशी नागरिकलाई सक्दो सहयोग गरेको भन्दै विदेशमा रहेका नेपाली नागरिकलाई पनि सहयोग गर्न विदेशी मित्रराष्ट्रहरुसँग आग्रह पनि गरे ।

सरकारले चाँडै नै कोरोनाको संक्रमित व्यक्ति कहाँ कहाँ पुगे भन्ने ट्रेसिङ एप शुरुवात गर्न लागेको जानकारी पनि उनले दिए । कोही मानिस भोकै नपरुन् भन्नेमा सरकार सचेत रहेको भन्दै उनले गरीब, मजदुर भोकै नपरुन्, राहत वितरण थालिएको बताए ।

विकासका ठूला परियोजनाहरु नरोक्न काम सुचालु हुने वातावरण मिलाएको पनि उनको भनाइ थियो उनले कृषि क्षेत्रको काममा निरन्तर लागिरहन पनि अपील गरे । यस्तो बेला स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहने भन्दै उनले त्यसका लागि शतप्रतिशत भत्तादेखि २५ लाखसम्मको बीमाको व्यवस्था मिलाइएको पनि बताए । यो व्यवस्था स्वास्थ्यकर्मीसरह फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षानिकाय, ड्राइभर, सुरक्षाकर्मी, सफाई कर्मचारी सबैमा सबैलाई हुने प्रधानमन्त्रीले प्रष्ट गरे ।

जीवनको वैयक्तिक स्वतन्त्रतामाभन्दा जीवन जोगाउने विषय महत्वपूर्ण भएकाले आफ्ना केही अधिकार कटौति भएको पनि सहन उनको आग्रह थियो । कोरोना भाइरसविरुद्धको लडाईमा हरेक सदस्य सिपाही भएको पनि उनले सम्झाए ।

विश्वभर नै स्वास्थ्य उपकरणको अभाव हुँदा खोसाखोस अवस्था आएको भन्दै उनले नेपालमा आपूर्तिका लागि विशेष व्यवस्था मिलाइएको बताए । सामान्य वा विशेष अवस्थाको मौका छोपेर कसैले पनि अनियमितता गर्न नपाईने र सरकारका काम कार्वाही संवैधानिक परीक्षणभन्दा बाहिर नरहेको तर्क गर्दै प्रधानमन्त्री ओलीले सञ्चार र सामाजिक क्षेत्रमा आएको टिप्पणीप्रति ध्यानाकर्षण भएको बताए ।

प्रकाशित : २०७६ चैत्र २५, मंगलवार २१:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ