प्रदेश २ कोरोना अपडेटः ९१२ जनाको र्‍यापिड टेस्ट, १४ जना आइसोलेसनमा


जनकपुरधाम । चार जना कोरोना भाइरस संक्रमित रहेको प्रदेश-२ मा आरटिडी अर्थात र्‍यापिड डाइग्नोस्टिक टेस्टलाई तीव्रता दिइएको छ। हालसम्म प्रदेश-२ का आठ जिल्लाका ९ सय १२ जनाको र्‍यापिड टेस्ट गरिएको हो।

र्‍यापिड टेस्ट गर्दा सप्तरीका दुई जनाको रिपोर्ट ‘पोजेटिभ’ देखाएको थियो। तर, पछि उनीहरुको स्वाब धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानको प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आयो। अन्य ९ सय १० जनाकै रिपोर्ट नेगेटिभ आएको छ।

सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार सबभन्दा बढी सप्तरीमा २ सय ५६ र सबभन्दा कम धनुषामा ४० जनाको र्‍यापिड टेस्ट गरिएको छ। एकजना कोरोना संक्रमित भेटिएको रौतहटमा २ सय २९ र तीन जना संक्रमित भेटिएको पर्सामा १ सय १८ जनाको मात्र र्‍यापिड टेस्ट भएको छ।

यस्तै, सिरहामा ९४, महोत्तरीमा ५१, सर्लाहीमा ६४ र बारामा ६० जनाको र्‍यापिड टेस्ट भएको सचिव घिमिरेले जानकारी दिए। विशेषगरी कोरोना आशंका गरिएको र क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूको र्‍यापिड टेस्ट गरिएको उनले बताए। शंकास्पद अन्य व्यक्तिहरूको र्‍यापिड टेस्ट गर्ने काम अझै जारी रहेको उनको भनाइ छ।

आइसोलेसनमा १४ जना भर्ना

कोरोना संक्रमित चार जनासहित १४ जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसन बेडमा ४ संक्रमित उपचाररत छन्।

यस्तै, कोरोना संक्रमणको आशंकामा सिरहाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा ४ र सिरहा अस्पतालको आइसोलेसन वार्डमा २ जना भर्ना छन्। बाराको सिमरामा निर्माण गरिएको आइसोलेसन वार्डमा पनि २ जना सम्भावित कोरोना संक्रमित उपचार गराइरहेका छन्।

प्रदेश २ मा कूल १ सय ६२ क्वारेन्टाइन बसिरहेका छन्। क्वारेन्टाइन बेड क्षमता ३ हजार ३ सय ४१ छन्। जसमध्ये १ हजार ४६ जना क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनमा बसेका अधिकांश विदेशबाट फर्केकाहरू छन्। यस्तै चिकित्सकको निगरानीमा १ हजार ६ सय ८३ जना होम क्वारेन्टाइनमा बसेका छन्।

प्रकाशित : २०७७ बैशाख ५, शुक्रबार १९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ