अस्पतालमै रोजा बस्छन् १७ जना कोरोना संक्रमित


 विराटनगर । विराटनगरमा अस्पताल भर्ना भएका कोरोना संक्रमित अस्पतालमै रोजा (ब्रत) बसेका छन् ।

इस्लाम धर्म मान्नेहरुको पवित्र पर्व रमजान शनिबार सुरु  भएको छ । यो पर्वमा एक महिनासम्म दैनिक ब्रत बस्ने गरिन्छ ।

शनिबार अस्पतालमा भर्ना भएका मुस्लिम समुदायका २८ जना कोरोना संक्रमितले रोजा बसेका थिए । तर मंगलबारबाट १७ जना मात्र नियमित रोजा बसिरहेका छन ।

अस्पतालमा ३१ जना कोरोना संक्रमित छन् । जसमध्ये २९ जना मुस्लिम समुदायका हुन् । एक जना मुस्लिम समुदायका व्यक्ति कोरोना संक्रमित सोमबारमात्र अस्पताल ल्याइएका हुन् ।

‘सुरुमा सबैजना रोजा बस्नुभएको थियो,’ कोशी अस्पताल विराटनगररकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले भनिन् ‘१७ जना नियमित हुनुहुन्छ ।’

कोरोना अस्पतालमा भर्ना भएकामध्ये १६ जना धार्मिक शिक्षा प्रदान गर्न उदयपुर पुगेका जमाती हुन् । भारतबाट आएका १२ जना जमातीसहित भर्ना भएका २८ जनाको स्वास्थ्यमा कुनै समस्या छैन । ६० वर्षमाथिका तीन जनामा भने मधुमेह र उच्च रक्तचापको समस्या छ ।

‘ब्रत बस्नेहरुको स्वास्थ्य अवस्था सामान्य छ, परीक्षणका लागि नमुना पनि संकलन गरेका छौं’ उनले भनिन् ‘उहाँहरुले ब्रत बस्ने इच्छा गरेपछि अस्पतालले खाना र खाजाको व्यवस्था मिलाइदिएका छौं ।’

उनका अनुसार रोजा बस्नेले विहान करिब ३ बजे उठेर दुध रोटी, फलफूललगायतका खानेकुरा खान्छन्। अन्यलाई भने नौं बजेपछि खाजा दिइन्छ । ब्रत बस्नेलाई अघिल्लो दिन राति नै आवश्यक खानेकुरा दिइन्छ ।

शनिबारदेखि सुरु रमजान एक महिना चल्छ । एक महिना सूर्योदयअघि नै खाना खाएर दिनभर रोजा (ब्रत) बस्ने परम्परा छ । ब्रत बस्दा दिनभर धार्मिक ग्रन्थ पढ्ने परम्परा छ ।

५ वैशाखमा भर्ना भएकाहरुले नमाज पढ्ने इच्छा व्यक्त गरेपछि अस्पतालले पुस्तक र आवश्यक सामग्री उपलब्ध गराएको थियो । रोजा बस्दा पनि सोही अनुसार व्यवस्था गरिएको छ ।

अस्पतालभित्र ठूलो हलमा १३ जनालाई राखिएको छ । अन्यलाई भने एउटा कोठामा ४ जनाका दरले राखिएको छ ।

अस्पतालभित्र पनि उनीहरु दूरी कायम गरेर बसेका छन् ।

प्रकाशित : २०७७ बैशाख १६, मंगलवार १९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ